
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार विकास र विद्यालयमा सूचना तथा सञ्चार प्रविधि निर्माण गर्ने घोषणा गरेका छन् । उनले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षभित्र सक्ने गरी यो महत्वाकांक्षी कार्यक्रम अघि बढाइने बताएका छन् ।
आज (आइतबार) धनकुटाको सहिद भूमि गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढेको उल्लेख गरेका छन् । सोही अवसरमा उनले खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका–६ मा निर्माण गरिदिएको ९२ लाख रुपैयाँ लागतको ठाकुरदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन पनि गरेका छन् । फाउन्डेसनले उक्त गाउँपालिकाका सबै विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त बनाउने जानकारी दिएको छ ।
५०० विद्यालयमा १५ अर्बको लगानीको तयारी

मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रको सट्टा शहीदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि सो विद्यालय निर्माणको कार्यक्रम सहिद भूमि पालिकामा गर्नका लागि सीपी फाउन्डेसनलाई आग्रह गरेको बताएका छन् ।
उनले सीपी फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशका हिमाली तीन जिल्ला र पहाडी आठ जिल्लाका करिब ५०० वटा विद्यालयको पूर्वाधार र आईसीटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने जानकारी दिएका छन् । यी विद्यालय बनाउनका लागि करिब १५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ । यो कार्यक्रम प्रदेश सरकार र स्थानीय पालिकाको साझेदारीमा अघि बढ्नेछ ।
सहिद भूमि गाउँपालिका नमुना पालिका बन्ने

मुख्यमन्त्री कार्कीकै पहलमा आज सहिद भूमि गाउँपालिका र सीपी फाउन्डेसनबीच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीअनुसार सहिद भूमि पालिकामा करिब २ देखि ३ अर्ब रुपैयाँ लगानी हुनेछ । यो लगानी सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यमशीलताका साथै सडक कालोपत्रे गर्न खर्च गरिनेछ ।
यस कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरमले पनि मुख्य सहयोगीको भूमिका निर्वाह गरेको छ । आज खेतान फाउन्डेसन र ह्युमन प्राक्टिस फोरमबीच सहिद भूमि पालिकामा पहिलो चरणमा कोशी प्रदेशका विद्यालय पूर्वाधार निर्माणका लागि ३ अर्बको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर पनि भएको छ ।
खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशको शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले यो ठूलो रकमको योजना १० वर्षभित्र सक्ने योजना रहेको र प्रदेश तथा पालिकाको स्रोतसाधनसमेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले समयावधि १० वर्ष राखिएको स्पष्ट पारेका छन् ।
सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि पारिएको पालिका नमुना पालिकाको रूपमा स्थापित हुने बताएका छन् । स्थानीय बासिन्दाले २०३६ सालको खोकु छिन्ताङ हत्याकाण्डपछि विकासमा पछि परेको यस पालिकाका लागि यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

























