सामाजिक सञ्जालको जञ्जाल र बेपत्ता किशोरीहरू

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १०, सोमबार १५:४३

पछिल्ला केही महिनायता मोरङ, सुनसरी र झापा जिल्लामा किशोरीहरू बेपत्ता हुने, अपहरणमा पर्ने र दुःखद रूपमा मृत फेला पर्ने घटनाक्रमले सबैलाई गम्भीर रूपमा झस्काएको छ। चाडपर्वको उल्लास चलिरहेका बेला भाइटीकाको दिनदेखि मोरङकी एक किशोरी र लक्ष्मीपूजाको साँझ भैलो खेल्न निस्किएकी सुनसरीकी अर्की किशोरी सम्पर्कविहीन हुनुले अभिभावकहरूमा ठूलो त्रास सिर्जना गरेको छ।

झन्, लेटाङकी एक किशोरी हराएको दुई सातापछि क्षतविक्षत अवस्थामा मृत भेटिनुले बालिका सुरक्षाको अवस्था कति नाजुक छ भन्ने प्रश्न खडा भएको छ। प्रहरीको तथ्याङ्क र विश्लेषण अनुसार यस्ता घटना बढ्नुको मुख्य कारण सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग र मोबाइल फोनको पहुँच नै हो। फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता माध्यमबाट अपरिचित व्यक्तिहरूको प्रेम, लोभ र प्रलोभनमा पर्ने क्रम बढेको छ।

यो ‘डिजिटल जञ्जाल’ ले किशोरीहरूलाई घरबाट भाग्न प्रेरित मात्र गरिरहेको छैन, कतिपय अवस्थामा यही कारणले बलात्कार र हत्याजस्ता जघन्य अपराधसम्म निम्त्याइरहेको छ। यस्तो संवेदनशील अवस्थामा बालिकाहरूको सुरक्षा सुनिश्चित गर्नका लागि परिवार, प्रहरी र समाज तीनै पक्षले तत्कालै गहिरो आत्मसमीक्षा र कठोर कदम चाल्नु अपरिहार्य छ।

किशोरी सुरक्षाको पहिलो किल्ला परिवार नै हो। प्रायः किशोरीहरू बेपत्ता हुनुमा परिवारभित्रको संवादहीनता एउटा ठूलो कारण बनेको देखिन्छ। अभिभावकले आफ्ना बालबालिकासँग मित्रवत् र खुला संवाद स्थापित गर्नुपर्छ। उनीहरूका भावना, मनका कुरा र समस्यालाई बुझ्ने वातावरण बनाउनुपर्छ, ताकि कुनै समस्या वा प्रलोभनमा पर्दा उनीहरूले निर्धक्क भई अभिभावकसँग कुरा गर्न सकून्।

सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगमा ‘बन्धक’ नभई ‘मार्गदर्शक’ बन्नुपर्छ। प्रविधिको प्रयोगमा पूर्णतया रोक लगाउनु भन्दा पनि सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न सिकाउनु आजको आवश्यकता हो। ‘अनलाइन’ मा भेटिने अपरिचितहरूको लोभ र जालसाजीबारे बाल्यकालदेखि नै सचेत गराउनुपर्छ।

प्रहरीले बेपत्ताको उजुरीलाई सामान्य ‘हराएको’ घटनाका रूपमा मात्र नलिई उच्च संवेदनशीलताका साथ तत्कालै खोज र अनुसन्धानमा लाग्नुपर्छ। एसपी कटुवाल र थेवेले भनेजस्तै बेपत्ता किशोरीहरूको खोजीमा नेपाल र भारत दुवैतिर तीव्रता दिनु सकारात्मक पक्ष हो। तर, यसलाई झन् प्रभावकारी बनाउन प्रविधिको प्रयोग जस्तै– मोबाइल ट्र्याकिङ, सामाजिक सञ्जाल मोनिटरिङ द्रुत गतिमा गर्नुपर्छ।

सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधको अनुसन्धानका लागि प्रहरीको साइबर एकाइलाई थप स्रोत र तालिम आवश्यक छ। अपहरण, बलात्कार वा हत्यामा सामाजिक सञ्जाल कसरी प्रयोग भएको छ भन्ने विषयमा विशेष अनुसन्धान टोली खटाउनुपर्छ।

स्थानीय तह र समाजले बालबालिका तथा किशोरी सुरक्षाका लागि सामूहिक जिम्मेवारी लिनुपर्छ। चाडपर्व वा भेला हुने समयमा किशोर किशोरीहरू घरबाट बाहिर निस्कँदा अभिभावक र समुदायले विशेष निगरानी बढाउनुपर्छ।

बेपत्ता किशोरीहरूको बढ्दो सूची केवल तथ्याङ्क होइन, यो समाजको सुरक्षा प्रणालीमा देखिएको गहिरो घाउ हो। उर्लाबारीकी किशोरीलाई होटलबाट उद्धार गर्न प्रहरी सफल भए पनि लेटाङकी अंशु गौतम जस्ता निर्दोष बालिकाले ज्यान गुमाउनु परेको दुःखद सत्यलाई मनन गर्दै, हरेक परिवार, हरेक प्रहरी अधिकारी र हरेक सामाजिक सदस्यले यो समस्यालाई आफ्नो साझा चुनौतीका रूपमा लिनैपर्छ।

हाम्रा छोरीहरू सुरक्षित नभएसम्म समाज समृद्ध हुन सक्दैन। यो कटु सत्यलाई हृदयङ्गम गर्दै, अब हामीले सुरक्षा र सचेतनाको अभियानलाई सशक्त बनाउनै पर्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.