
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” को प्रभावका कारण नेपालको मौसम आज (शुक्रबार) साँझसम्म प्रभावित हुने भएको छ।
हाल सो प्रणाली भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव परिरहेको छ। यद्यपि, भोलि (शनिबार) बाट मौसममा क्रमिक रूपमा सुधार आउने देखिन्छ।
हाल देशभर साधारणदेखि अधिकांश बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा गण्डकी, मधेस र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा धेरै स्थानहरूमा मध्यम हिमपात हुनेछ। साथै, यी प्रदेशका केही स्थानहरूमा भारी हिमपात समेत हुन सक्छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ। यी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात को सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
यस मौसमी प्रभावले दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै अत्यावश्यक सावधानी अपनाउन महाशाखाले सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।























