
काठमाडौँ । खराब मौसम र कम दृश्यता (भिजिबिलिटी) का कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा उडानहरू बन्द भएका छन्।
यी तीनै विमानस्थलमा काठमाडौँबाट कुनै पनि उडान हुन नसकेको बुद्ध एयरले जानकारी दिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, भद्रपुर विमानस्थल भने अहिले खुल्ने प्रक्रियामा रहेको छ।
वायुसेवा कम्पनीहरूले यात्रु तथा सेवाग्राहीहरूलाई यात्रामा निस्कनुअघि अनिवार्य रूपमा उडानको स्थिति जाँच गर्न सुझाव दिएका छन्। मौसम सुधार नभएसम्म यी विमानस्थलमा उडान सञ्चालनमा बाधा रहन सक्ने बताइएको छ।
विमान कम्पनीहरूले यात्रुहरूलाई वैकल्पिक योजना बनाउन र आवश्यक सूचना प्राप्त गर्न नियमित रूपमा वायुसेवाको फेसबुक पेज वा एप मा अद्यावधिक जानकारी हेर्न पनि आग्रह गरेका छन्।



















