
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलका १२ जना विद्यार्थीसहितको १३ सदस्यीय टोली भियतनामका लागि प्रस्थान गरेको छ ।
असोज १२ देखि कात्तिक १ (१२ –१८ अक्टोबर) गतेसम्म भियतनामको होचिमिनमा हुने कार्यक्रमका लागि एभरेस्ट कलेजका सह प्राचार्य टी एन भण्डारीको नेतृत्वमा विद्यार्थीहरूको समूह प्रस्थान गरेको एभरेस्ट स्कुलले जनाएको छ ।
स्कुलका अनुसार भियतनामको हु टेक विश्वविद्यालयमा हुने नमुना सभामा चीन, थाइल्यान्ड, कम्बोडिया, भियतनाम तथा नेपाललगायतका देशका विद्यार्थीहरूले सहभागिता जनाउने छन् ।
जसका लागि नेपालबाट ३१ जना विद्यार्थीले सहभागिता जनाउँदा एभरेस्ट स्कुलका १२ जना विद्यार्थीले भाग लिन लागेका हुन् । भियतनाम बसाइँका क्रममा विभिन्न सहरको अवलोकन भ्रमण र त्यहाँका सांस्कृतिक परिवेशको समेत अध्ययन हुने स्कुलले जनाएको छ ।
विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकास हुने लक्ष्य राखिएको यो नमुना महासभाले विश्वको कूटनीति, परराष्ट्र नीति, त्यहाँको संस्कृति, राजनीतिक परिवेश र विकास क्रमलाई समेत बुझ्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसअघि एभरेस्ट स्कुलले समेत आन्तरिक रूपमा एभरेस्ट मुनको नाममा नमुना अभ्यास गराएको थियो । कक्षा ८ देखि १२ सम्मका २ सयभन्दा बढी विद्यार्थीले उक्त नमुना महासभामा विभिन्न देशको प्रतिनिधिका रूपमा भाग लिएका थिए ।
‘भियतनाम मुन’ नाम दिइएको यो कार्यक्रममा समेत ग्लोबल हेल्प फाउन्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गरेको सह प्राचार्य भण्डारीले बताए ।
यो कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका समस्या पहिचान र समाधानका लागि विकल्प खोज्न सिकाउने उनले विश्वास व्यक्त गरे ।

























