
विराटनगर । कोशी प्रदेशसभा सचिवालयको काम कारबाही अब मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारबाट सञ्चालित हुने भएको छ ।
प्रदेशसभा सचिवालय बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा सारिएको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभाको भवन आगजनी गरेर ध्वस्त पारिएको थियो ।
कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उपसभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारका अनुसार सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ । उक्त भवनबाट अबको केही दिनमै प्रदेशसभाको बैठक सुरु हुने जानकारी उनले दिइन् ।
कार्यालय व्यवस्थापन पूरा भएपछि मंसिर दोस्रो साताभित्र प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गरिने बताइएको छ । अराजक समूहले प्रदेशसभा भवनमा आगजनी गरेपछि सचिवालयको संरचना र अभिलेखहरू नष्ट भएका थिए ।
त्यसपछि प्रदेशसभा सचिवालयको काम कारबाहीमा समस्या भएको थियो । प्रदेशसभा बैठकसमेत बस्न पाएको थिएन । अहिले वैकल्पिक रूपमा कटहरीको कृषि थोक बजार भवनलाई प्रदेशसभाको अस्थायी कार्यस्थल बनाइएको हो ।
विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले कटहरीमा फलफूल तथा कृषि थोक बजार निर्माण गरेको थियो । तर, बजार सञ्चालनमा नआएसँगै अहिले कोशी प्रदेशसभा र सचिवालयको नयाँ थलो बनेको छ ।
तरकारी बजारका लागि कटहरी गाउँपालिका–१ जमटोकीमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँमा संरचना बनाइएको थियो । बजार उद्घाटनपछि २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका थिए ।
तर, प्रदेश सरकारले सञ्चालन गर्न नसकेपछि कटहरी गाउँपालिकालाई जिम्मा लगाइएको थियो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले उक्त संरचना निःशुल्क रूपमा प्रदेशसभा सञ्चालनका लागि दिने निर्णय गरिएको बताए ।
कटहरीमा संरचना बनाइएको भए पनि यसअघि बजार सञ्चालन हुन सकेको थिएन । कांग्रेस नेता तथा विराटनगर महानगरका हालका मेयर नागेश कोइरालाले गुद्री बजारका व्यापारीहरूलाई बसपार्क पछाडि आफ्नै जग्गामा भाडामा राखेपछि गुद्रीका व्यापारी कटहरीको तरकारी बजारमा गएनन् ।
कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी छ । यो भवन प्रदेशसभा सचिवालयका लागि अस्थायी रूपमा प्रयोग गरिने छ ।
आगजनीले सबै संरचना ध्वस्त भएपछि प्रदेशसभा सचिवालयको पुराना संरचना कामै नलाग्ने भएका छन् । तर, अराजक समूहको निशानामा परेर प्रदेशसभा भवन शून्य अवस्थामा पुगे पनि सामान्य प्रशासनिक काम कारबाही भने भदौ अन्तिमबाट गर्न थालिएको थियो ।
अराजक समूहले प्रदेशसभा सचिवालय परिसरमा आगजनी गर्दा सचिवालयका ९ वटा गाडी जलेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि २ वटा सवारी जलेको थियो । आगजनीका कारण प्रदेशसभाको सबै सामग्री जलेर नष्ट भएका थिए ।
सचिवालयको भुइँ तला र पहिलो तला तथा बैठक भवनमा आगजनी गरिएको थियो । आगोले नभेटेका सामग्री लुटपाट गरिएको थियो । निजी सवारीसाधनदेखि फर्निचर, एसी, कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण लुटपाट र चोरी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

























