‘तस्करसँग मिलेमतोको आशङ्का’ : विराटनगर भन्सार र राजस्व अनुसन्धानको कार्यशैलीमा सशस्त्र प्रहरी असन्तुष्ट

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ८, सोमबार १७:१०
फाइल तस्बिर

विराटनगर । सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको सशस्त्र प्रहरी बल (एपीएफ) ले विराटनगर भन्सार र राजस्व अनुसन्धान कार्यालय इटहरीको कार्यसम्पादनमाथि गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।

यी दुई निकायको कमजोर जाँचपास प्रक्रिया र फितलो अनुसन्धानका कारण पूर्व क्षेत्रमा चोरी तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको सशस्त्र प्रहरीको ठहर छ ।

सशस्त्र प्रहरीले आफ्नो पूरै जनशक्ति परिचालन गरी भन्सार छलीका ठूला परिमाणका सामान बरामद गरेर अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाउँदा पनि आरोपितहरूलाई अत्यन्त न्यून धरौटीमा छाड्ने गरिएको भन्दै असन्तुष्टि जनाएको हो ।

सशस्त्र प्रहरी बल, बराह बाहिनी पकलीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले यस्तै गतिविधि कायम रहेमा आफूहरू उच्च मनोबलका साथ काम गर्न नसकिने चेतावनी दिएका छन् । उनले यी दुई निकायका केही कर्मचारीहरूले तस्करसँग मिलेमतो मा काम गर्ने गरेको दाबीसमेत गरेका छन् ।

डीआईजी न्यौपानेको नेतृत्वमा भएको विशेष कारबाहीले यो विवादलाई थप उजागर गरेको थियो । गत कात्तिक १७ गते विशेष सूचनाका आधारमा विराटनगर भन्सार कार्यालय क्षेत्रमा छापा मार्दा प्रज्ञापनपत्रमा उल्लेख गरिएको भन्दा बढी मूल्यका लत्ताकपडा तस्करी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

सोही क्रममा अर्को ट्याक्टर आईसीपी यार्डतर्फ फर्केको सूचना आएपछि भन्सार प्रमुख उमेश श्रेष्ठलाई समन्वयका लागि आग्रह गर्दा उनले अनभिज्ञता प्रकट गरे । तर, बाहिनीपतिको निर्देशनमा खोजतलास गर्दा उक्त ट्याक्टरको पुरानो सवारी साधनभित्र १५ पोकाभन्दा बढी कपडा लुकाइराखेको अवस्थामा बरामद गरियो ।

उक्त घटनामा भन्सार एजेन्टहरू कुन्दन मण्डल, छोटु मण्डल र ललन मण्डल पक्राउ परेका थिए । पटकपटक चोरी तस्करीमा संलग्न हुँदै आएका व्यक्तिहरू बारम्बार पक्राउ पर्दासमेत चित्तबुझ्दो कारबाही नभएकोमा सशस्त्रले आपत्ति जनाएको छ ।

कात्तिक १९ गते अर्को विशेष सूचनाका आधारमा विराटनगर–१५ स्थित बुद्ध पूजा ढुवानी सेवामा शंकास्पद ३४ पोका लत्ताकपडा बरामद भए पनि राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मार्न आनाकानी गरेपछि सशस्त्रले सिधै राजस्व अनुसन्धान विभाग, काठमाडौंमा गुनासो गर्नुपरेको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले यी ठूला घटनाका आरोपितहरूलाई जम्मा १ लाख २४ हजार रुपैयाँ धरौटी लिएर छाडेको भन्दै सशस्त्र प्रहरी रुष्ट बनेको हो । तस्करीमा भन्सार एजेन्ट नै बारम्बार संलग्न हुँदा पनि कसुरअनुसारको कारबाही र जरिवाना नभएको सशस्त्रको गुनासो छ ।

यस विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका सूचना अधिकारी बिदुर गौतमले भने, ‘हामीले प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी रहेको सामान बराबरको धरौटी लिएर छाडेका हौँ ।’

यता, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले अनुसन्धानका क्रममा आफूहरूबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.