निर्वाचन आयोगको ढोका रातभर खुला : बन्दसूची बुझाउन दौडधुप, सडकमा जेनजीको आक्रोश

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार ०७:५६

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन निर्वाचन आयोगको वातावरण असाधारण रूपमा तनावपूर्ण र व्यस्त बन्यो ।

सोमबार दिनभर र रातभर निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूको आवतजावत रोकिएन । निर्धारित समय सकिनै लाग्दा पनि बन्दसूची बुझाउने दलहरूको भिड कम भएन । बरु रात पर्नासाथ झनै चाप बढ्यो ।

निर्वाचन आयोगका अनुसार हालसम्म ३१ वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । बन्दसूची बुझाउन इच्छुक दलमध्ये ५५ वटा राजनीतिक दलले आयोगमा धरौटी रकम बुझाएका छन् ।

आयोगले यसअघि १ सयवटा राजनीतिक दललाई ९३ वटा निर्वाचन चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन स्वीकृति दिएको थियो । तीमध्ये सबै दलले बन्दसूची बुझाउँछन् कि नबुझाउँदैनन् भन्ने चासोबीच अन्तिम दिनको गतिविधि निकै चर्को बन्यो ।

निर्वाचन तालिकाअनुसार समानुपातिकतर्फको बन्दसूची पेस गर्ने सोमबार नै अन्तिम म्याद तोकिएको थियो । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राति १२ बजेसम्म समय तोकिए पनि निर्धारित समयभित्र आयोगको परिसरमा प्रवेश गरिसकेका राजनीतिक दललाई सेवा दिइने व्यवस्था गरिएको थियो ।

यही व्यवस्थाका कारण निर्वाचन आयोगको कार्यालय परिसरमा राति अबेरसम्म बत्ती बलिरहेको देखिन्थ्यो । दलका लागि आयोगको ढोका खुला राखियो । दलका प्रतिनिधि, कानुनी सल्लाहकार र निर्वाचन अधिकृतबीच कागजात मिलान, सूची सच्याउने र अन्तिम हस्ताक्षर गर्ने काम निरन्तर चलिरह्यो ।

बन्दसूची बुझाउने प्रक्रियाको व्यस्ततासँगै आयोग बाहिरको दृश्य भने अर्कै खालको बन्यो । सोमबार साँझ निर्वाचन आयोगको आसपास जेनजी भनेर चिनिने युवाहरू सडकमा उत्रिए । उनीहरूले निर्वाचन नै रोक्नुपर्ने मागसहित प्रदर्शन गरे ।

राजनीतिक दलहरू बन्दसूची पेस गर्न आयोगमा पुगिरहेका बेला युवाहरूको नाराबाजीले वातावरण थप तनावपूर्ण बनायो। ‘निर्वाचन धोका हो’, ‘जेनजीका माग पूरा गर’, ‘प्रधानमन्त्री सुशीला कार्की राजीनामा दे’ र ‘प्रधानमन्त्री सुशीला कार्की मुर्दावाद’जस्ता नारा उनीहरूले लगाएका थिए ।

प्रदर्शनकारी युवाहरूले वर्तमान निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै चुनाव नमान्ने घोषणा गरेका छन् । जनताको वास्तविक आवाज प्रतिनिधित्व गर्ने अवस्था नरहेको र पुरानै राजनीतिक शक्तिहरूले प्रणाली कब्जा गरिरहेको उनीहरुको भनाइ छ । निर्वाचन रोकेर व्यापक राजनीतिक सुधारतर्फ जानुपर्ने उनीहरूको माग थियो ।

आयोग परिसर बाहिरको प्रदर्शन र भित्रको बन्दसूची पेस गर्ने हतारोले एकै दिन लोकतान्त्रिक अभ्यासको २ फरक दृश्य देखाएको थियो । एकातिर निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ भने अर्कातिर युवापुस्ताको आक्रोश सडकमा प्रकट भइरहेको छ ।

रातभर आयोगको ढोकामा लाइन लागेका दलका प्रतिनिधि र बाहिर नारा लगाइरहेका युवाहरूले मुलुकको वर्तमान राजनीतिक अवस्था र आगामी निर्वाचनको चुनौतीलाई एकसाथ उजागर गरेका छन् । निर्वाचन आयोगका लागि बन्दसूची दर्ता प्रक्रिया व्यवस्थापनका साथै निर्वाचनप्रतिको विश्वास जोगाउनु पनि ठूलो चुनौती बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.