आशाको केन्द्रमा गगन थापा

Share this
685shares
मुलुकी खबर
खिम घले
clock२०८२ पुस २६, शनिबार १२:३७

वि.सं. २०६२/६३ को जनआन्दोलनलगत्तै मलाई केही महिनाका लागि भारतमा अध्ययन गर्न जाने अवसर मिलेको थियो। त्यस क्रममा एउटा प्रस्तुति दिनुपर्ने भयो। मैले ‘उदाउँदो युवा नेता’ शीर्षकमा गगन थापाका बारेमा आफ्नो प्रस्तुति दिएँ। ३६ देशका सहभागीहरू रहेको त्यो मञ्चमा धेरैले उनीप्रति चासो व्यक्त गरेका थिए। त्यसबेला हामी अहिलेको ‘जेन-जी’ भनिने पुस्ताको पछिल्लो उमेर समूहमा थियौँ। सङ्घीयता र गणतन्त्रको पक्षपाती हुनुको नाताले पत्रकारितामै रहे पनि आफ्नो तहबाट २०६२/६३ को आन्दोलनमा म पूर्ण रूपमा सहभागी थिएँ।

स्कुल तहमा जानी–नजानी विद्यार्थी राजनीतिमा लागेको बाहेक म कुनै पनि राजनीतिक दलको सदस्य छैन। तर, नेपाली राजनीतिलाई धेरै नजिकबाट बुझ्ने प्रयास भने सधैँ गर्छु। यति मात्र होइन, राजनीतिका बारेमा कुनै समूहमा आफूलाई लागेको कुरा व्यक्त गर्न वा लेख्न म सधैँ तत्पर रहन्छु; यसबाट कोही रिसाउलान् भन्ने परवाह मलाई छैन। बदलिँदो परिस्थितिमा गगन थापाले अघि सारेका केही नीतिगत कुराहरू मलाई यथार्थपरक लागेका छन्।

भदौ २३ र २४ गतेको घटनापछि मुलुक जुन परिस्थितिमा पुगेको छ, त्यसको सही विश्लेषण अहिलेसम्म कसैले गरेको छ भने त्यो गगन थापाले नै गरेका छन् भन्ने मेरो बुझाइ छ। उनको विश्लेषणबाट मैले बुझेका मुख्य बुँदाहरू यस प्रकार छन्:

१. भदौ २३ र २४ मा जे भयो, त्यो मूलतः जनता, विशेषगरी युवाहरूमा रहेको असन्तुष्टि र आक्रोशको परिणाम थियो। यसको मुख्य कारण वर्षौँदेखि सत्तामा रहेका दलहरू नै हुन्।

२. दलहरूले हरेक तह र तप्कामा ‘कब्जा’ गर्ने जुन दलीयकरणको प्रवृत्ति अपनाएका छन्, त्यो नै जनआक्रोशको प्रमुख कारण हो।

३. कुशासन र भ्रष्टाचारको जग पनि त्यही दलीयकरण नै हो।

४. अब दलहरूले दलीयकरण, कुशासन र भ्रष्टाचार अन्त्य गर्ने दृढ संकल्प गर्नुपर्छ।

५. यस्तो संकल्पमार्फत युवा पुस्तामा आशा जगाउँदै तीव्र विकासको बाटोमा अघि बढ्नुपर्छ।

६. नेपाली कांग्रेसले विगतको पुनरावलोकन, कमजोरीको स्वीकारोक्ति र नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ। त्यसका लागि नीति र नेतृत्व दुवै फेर्नु आवश्यक छ र गगन स्वयं त्यसको नेतृत्व गर्न तयार छन्।

७. नेपाली कांग्रेस चुनाव केन्द्रित मात्र हुनुहुँदैन र कम्युनिस्टहरूसँग चुनावी गठबन्धन पनि गर्नुहुँदैन। एक पटक चुनाव हार्दैमा केही हुँदैन, दीर्घकालीन सोचका साथ अघि बढ्नु नै पार्टी, समाज र राज्यका लागि हितकर हुन्छ।

समकालीन राजनीतिमा यति स्पष्ट रूपमा बुझ्ने र बुझाउन सक्ने नेता अरू कोही छैनन् भन्ने मेरो ठम्याइ हो। अहिले कांग्रेसभित्र ‘विशेष महाधिवेशन’का रूपमा एक प्रकारको प्रसव पीडा चलिरहेको छ। यस क्रममा एकथरी मानिसहरू कांग्रेस फुटोस् भन्ने चाहना राख्छन्, तर म भने कांग्रेस नफुटोस् भन्ने कामना गर्दछु।

मैले सानैदेखि सुन्दै र बुझ्दै आएको कांग्रेस एक यथास्थितिवादी पार्टी हो। तर, गगन थापाका बुझाइ र भनाइहरू म सधैँ परिवर्तनकामी र रूपान्तरणकारी पाउँछु। यदि कसैले साँच्चै देशको भलो चाहन्छ भने कांग्रेस फुट्नु हुँदैन। गगन र विश्वप्रकाशहरू कांग्रेसको मियो बन्नुपर्छ। नीति र नेतृत्वमा उनीहरू आएको खण्डमा मात्र मुलुकले निकास पाउने मैले देखिरहेको छु।

अहिले परिस्थिति फरक छ। पुरानो पुस्ता र शैलीका दलहरूका लागि आगामी चुनाव जित्नु ‘फलामको चिउरा चपाउनु’ जत्तिकै कठिन हुने निश्चित छ। यद्यपि, कांग्रेसले गगनले भनेझैँ यो चुनावलाई मात्र होइन, दीर्घकालीन भविष्यलाई हेर्नुपर्छ। रूपान्तरित र पुस्तान्तरित कांग्रेसले नै अन्य पुराना र नयाँ दलहरूलाई पनि सही मार्गमा ल्याउनेछ भन्ने मेरो विश्वास छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.