
बेलबारी । मोरङको बेलबारी यतिबेला साङ्गीतिक र व्यापारिक उत्सवले झुमिरहेको छ। बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी ‘तेस्रो बेलबारी महोत्सव’को पाँचौँ दिन आज मंगलबारको साँझ निकै विशेष र धमाकेदार हुने भएको छ। युवापुस्ताका अत्यन्तै लोकप्रिय गायक स्वप्न सुमनले आज बेलबारीको स्टेजमा आफ्नो जादुमयी स्वर छर्ने भएका हुन्। आफ्ना सुमधुर र रोमान्टिक गीतहरूका कारण लाखौँ फ्यान कमाएका स्वप्न सुमनको प्रस्तुतिले पुसको ठिहीमा पनि महोत्सवको वातावरणलाई तताउने निश्चित छ।
आजको महोत्सवमा स्वप्न सुमनलाई साथ दिन स्थानीय एवं चर्चित कलाकार लक्ष्मी पौडेलले पनि आफ्नो दमदार प्रस्तुति राख्नेछिन्। नेपाल आइडल सिजन–४ मा उत्कृष्ट प्रतिभा प्रदर्शन गरेर चर्चा कमाएकी लक्ष्मी बेलबारीकै स्थानीय बासिन्दा हुन्। राष्ट्रिय स्तरका चर्चित गायक र स्थानीय प्रतिभाको यो बेजोड मिलनले आजको साङ्गीतिक साँझलाई थप उत्साहजनक बनाउने आयोजकको विश्वास छ।
गत पुस २५ गतेदेखि सुरु भएको यो महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा दैनिक रूपमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्थानीय कृषि, व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने व्यापारिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। त्यस्तै, महोत्सवमा प्रत्येक दिन हाउजी खेल समेत भइरहेको आयोजकले जनाएको छ।
महोत्सव अवधिभर उल्लेख्य सङ्ख्यामा दर्शकहरूको उपस्थिति भइरहेको र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो सहयोग पुर्याएको बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले बताए। आजको मुख्य साङ्गीतिक कार्यक्रम बेलुकी ७ बजेदेखि सुरु हुने भएकाले आयोजकले सम्पूर्ण दर्शक तथा सङ्गीतप्रेमीहरूलाई समयमै महोत्सव स्थलमा उपस्थित भई मनोरञ्जन लिन हार्दिक अनुरोध गरेको छ।

























