
काठमाडौं । काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा बुद्ध जयन्तीकै दिन डोजर लगाएर भत्काइएको घटनाले धार्मिक तथा सामाजिक वृत्तमा तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन परेको बुद्ध जयन्तीको अवसरमै गुम्बा भत्काइएपछि यसलाई लिएर बहस चर्किएको हो । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत उक्त गुम्बा भत्काएको छ ।
महानगरका अनुसार बल्खु, टेकु नजिकको वंशीघाट, बालाजु लगायत क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउने क्रममा गुम्बा पनि परेको हो । डोजर चलाउनुअघि गुम्बाभित्र रहेका बुद्धमूर्ति तथा अन्य धार्मिक सामग्री सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
उक्त गुम्बा २०७८ साल कात्तिक १३ गते दर्ता भएको थियो । तर, गुम्बा सञ्चालक तथा बौद्ध धर्मावलम्बीहरूले भने यस कदमप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले बुद्धको जन्मजयन्ती जस्तो महत्वपूर्ण दिनमै धार्मिक आस्थाको केन्द्रमा डोजर चलाइनुलाई संवेदनशीलता अभावको उदाहरणका रूपमा लिएका छन् ।
गुम्बा पक्षले यो अतिक्रमण नभई गुम्बाको नाममा रहेको जग्गामाथि अन्य स्वार्थले हस्तक्षेप गरेको आरोपसमेत लगाएको छ । केहीले यस घटनालाई बौद्ध धर्ममाथिको प्रहारको रूपमा व्याख्या गर्दै निर्णयप्रति पुनर्विचार गर्न माग गरेका छन् ।



















