
विराटनगर । नियमित चेकजाँचका क्रममा मुटुको धमनी बन्द भएको पाइएपछि विराट नर्सिङ होम र विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ‘बाइपास’ शल्यक्रिया भएको छ ।
मुटुमा समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थिए । उनको बन्द भएको धमनी ‘ब्लकेज’ अपरेसनपछि खुलेका कारण स्वास्थ्यमा सुधार आएको छ ।
डा. कार्कीले समेत आफ्नो स्वास्थ्यमा व्यापक सुधार भएको जानकारी भिडियो सन्देशमार्फत दिएका थिए । भिडियोमार्फत भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको कुरा बाहिर आएपछि हाल सामाजिक सञ्जालमा टिप्पणी सार्वजनिक भइरहेका छन् ।
हालै डा. कार्कीलाई गम्भीर ‘कोरोनरी’ धमनी अवरोध देखिएपछि (कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ) शल्यक्रिया आवश्यक भएको थियो । यो सेवा हाल विराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराट नर्सिङ होममा उपलब्ध छैन ।
वरिष्ठ मुटु रोग विशेषज्ञहरूका अनुसार, यस्तो जटिल शल्यक्रियाका लागि केवल मुटु शल्य चिकित्सक मात्र नभई विभिन्न अत्याधुनिक उपकरण साथै विशेषज्ञहरूको समन्वित टोली आवश्यक पर्छ, जुन सेवा नेपालमा अझै केही सीमित केन्द्रमा मात्र सम्भव रहेको र नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरू र विभिन्न उपचार केन्द्रहरूसँग गरिएको परामर्शपछि बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्दै भारतमा उपचार गराउनु उपयुक्त हुने सिफारिस गरेपछि भारतमा उपचार गर्न डा. कार्की गएका हुन् ।
नेपालकै डाक्टरहरूको सल्लाह अनुसार डा. कार्की मेदान्ता अस्पतालमा गई ट्रिपल बाइपास शल्यक्रिया गराएकाे उनकाे परिवारले जनाएको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्, ‘कुनै व्यक्तिले विदेशमा उपचार गराउनु भनेको देशको स्वास्थ्य प्रणालीप्रति अविश्वास हुनु अनिवार्य रूपमा होइन । बरु हाल उपलब्ध सेवा, आवश्यक बहुविशेषज्ञ संरचना र बिरामीको जोखिम मूल्यांकनका आधारमा लिइने चिकित्सकीय निर्णय हो । नेपालमा चिकित्सकहरूको क्षमता र प्रतिबद्धतामा कमी नभए पनि केही अत्यन्त जटिल उपचारका लागि आवश्यक एकीकृत प्रणाली अझै विकासकै चरणमा छ।’
नेपाली स्वास्थ्य सेवामा करिब चार दशकदेखि सक्रिय रहँदै आएका उनले विदेशमै बसेर काम गर्ने अवसर हुँदाहुँदै पनि आफ्नोसम्पूर्ण व्यावसायिक जीवन नेपालमै समर्पित गरेका छन् ।
विशेषगरी राजधानीबाहिर गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने मान्यताका साथ उनले पूर्व क्षेत्रमा चिकित्सा शिक्षण र उपचार सेवाको आधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

























