
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका बारेमा आम नागरिक र मतदाताका जिज्ञासा समाधान गर्ने उद्देश्यले आयोग परिसरमा ६ वटा डेस्कसहितको कल सेन्टर स्थापना गरिएको हो। निर्वाचनसम्बन्धी कुनै पनि जानकारी वा प्रश्न भएमा टोल फ्री नम्बर ११०२ मा सम्पर्क गरी सोध्न सकिने व्यवस्था मिलाइएको छ।
कल सेन्टर सञ्चालनमा आएको पहिलो दिनमै गण्डकी प्रदेशबाट एक व्यक्तिले लोकसेवा आयोगको परीक्षाका बारेमा जिज्ञासा राखेका थिए। उनले निर्वाचन आचारसंहिताका कारण यसअघि नै प्रकाशित भइसकेका परीक्षा तालिका प्रभावित हुन्छन् कि हुँदैनन् भनी सोधेका थिए। आयोगका अधिकारीहरूले पहिले नै तय भइसकेका परीक्षाहरू आचारसंहिताका कारण नरोकिने जवाफ दिएका छन्।
यो सेवा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म उपलब्ध हुनेछ। आजदेखि सुरु भएको कल सेन्टर निर्वाचन सम्पन्न भई उम्मेदवारले विजयी प्रमाणपत्र प्राप्त नगर्दासम्म निरन्तर सञ्चालनमा रहने आयोगले जनाएको छ। मतदाता नामावली, मतदान प्रक्रिया, निर्वाचन आचारसंहिता वा अन्य प्राविधिक विषयमा कुनै पनि द्विविधा भएमा मतदाताले ११०२ मा फोन गरेर सिधै आयोगका कर्मचारीसँग कुरा गर्न सक्नेछन्।
























