
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा व्याप्त अराजकता धेरै दिन नटिक्ने बताएका छन्। बिहीबार झापाको दमक–८ मा ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकन गर्दै उनले आपराधिक क्रियाकलापमा संलग्नहरू ढिलोचाँडो कानुनी दायरामा आउने बताए।
विध्वंश मच्चाउनेहरूलाई राज्यले नछाड्ने उल्लेख गर्दै ओलीले भने, ‘सधैं अराजकता कहाँ टिक्छ र? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ। तपाईँहरूले उजुरी र निवेदन लगायतका कानुनी प्रक्रिया भने अघि बढाउनुहोला।’ उनले अराजकताको आयु कहिल्यै लामो नहुने जिकिर समेत गरे।
सो क्रममा नेता पुरीले आन्दोलनका नाममा आफ्नो घरमा आगजनी र तोडफोड भएको, सम्पत्ति लुटिएको र घरायसी सामानहरू जलाइएको जानकारी गराए। उनले घटनाका सबै प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया अगाडि बढाइसकेको पनि बताए। जेनजी आन्दोलनका क्रममा दमक लगायतका क्षेत्रमा राजनीतिक दलका नेताहरूका घर र सम्पत्तिमा क्षति पुर्याइएको थियो।
























