विश्व स्तरको शिक्षा र प्रविधिमा जोड दिँदै एभरेस्ट स्कुलको ३२ औँ अभिभावक दिवस 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १७, शनिबार १८:२०
 विश्व स्तरको शिक्षा र प्रविधिमा जोड दिँदै एभरेस्ट स्कुलको ३२ औँ अभिभावक दिवस 

विराटनगर । विराटनगरको एभरेस्ट स्कुलले आफ्नो ३२ औँ अभिभावक दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

अभिभावक दिवसको समापन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले एभरेस्टले सधैँ नवीनता र प्रविधिलाई आत्मसात् गर्दै शिक्षाको क्षेत्रमा अग्रपथमा हिँड्न चाहेको बताए ।

Advertisement

उनले स्कुल अब कसैसँग तुलना गर्ने भन्दा पनि थप गतिशील बन्दै युग सापेक्ष शैक्षिक वातावरण निर्माणमा केन्द्रित रहेको उल्लेख गरे । ‘हामी विश्वका सम्पन्न मुलुकहरूमा दिइने स्तरको शिक्षा यहीँबाटै प्रदान गर्न प्रतिबद्ध छौँ,’ उनले भने, ‘अहिलेको एआईको युगमा प्रविधि, विज्ञान र सीपलाई एकसाथ अघि बढाउनुको विकल्प छैन र एभरेस्टले सोही अनुसारको वातावरण बनाएको छ ।’

उनले भने, ‘हामीले बोल्ने मात्र होइन, परिणाम देखाउनुपर्छ भन्ने मान्यता राखेका छौँ । हाम्रा विद्यार्थीले भियतनाम र हङकङ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाएर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् ।’
काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सुरु हुन लागेको बीआइटीको दोस्रो सेमेस्टरदेखि नै विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी गर्ने गरी पहल भइरहेको जानकारी दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष डा. देवेन्द्र अधिकारीले एभरेस्टले भौतिक पूर्वाधार मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकासमा गरेको लगानी सराहनीय रहेको बताए । यस्तै, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले एभरेस्ट स्कुल अन्य विद्यालयका लागि पथप्रदर्शक र प्रेरक रहेको चर्चा गरे ।

३२ वर्षअघि ८४ जना विद्यार्थीबाट सुरु भएको एभरेस्टमा हाल २ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत अभिभावकहरूलाई मनोरञ्जन गराए ।

अभिभावक दिवसकै अवसरमा विद्यालयले लामो समयदेखि सेवा पुऱ्याउँदै आएका ४ जना कर्मचारी र २ जना खेलकुद प्रशिक्षकलाई सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.