
काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको डिजिटल ट्रयाकिङका लागि नयाँ प्रणाली सुरु गरेको छ। बिहीबार आयोजित एक समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विधिवत शुभारम्भ गरे।
यस प्रणालीले नेपाल आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण र सम्भावित अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विभागले गत असोज १ गतेदेखि नै होटल एसोसिएसनसँगको समन्वयमा काठमाडौँका तारे होटलहरूमा यो प्रणाली परीक्षणका रूपमा लागू गरेको थियो। विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि आफू बस्ने होटल जानुअघि आफ्नो विवरण इन्ट्री गर्नुपर्नेछ। विवरण इन्ट्री गरेपछि एउटा क्युआर कोड प्राप्त हुनेछ।
सोही कोडका आधारमा सेवा प्रदायक संस्थाहरू (होटल, ट्राभल्स आदि) ले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्नेछ ।यदि पर्यटकले आफैँ विवरण भरेका छैनन् भने होटलहरूले अनिवार्य रूपमा विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने गरी व्यवस्था मिलाइएको छ।
यो प्रणाली हाललाई देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स र मनी एक्स्चेन्जहरूमा लागू गरिएको छ। विभागले यसलाई क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र निजी संस्थाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यो प्रणालीले व्यक्तिगत सुरक्षा मजबुत बनाउनेछ। विशेषगरी विपद्का समयमा पर्यटकहरूको खोजी तथा उद्धार कार्यमा यसले ठूलो सहयोग पुर्याउनेछ। साथै, अवाञ्छित क्रियाकलापको निगरानी र अपराध अनुसन्धानमा समेत यसले प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।























