माग पूरा नभए फागुन २१ को चुनाव हुन दिँदैनौँ: प्रसाईं

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १६:४२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीबीच पछिल्लो समसामयिक विषयमा छलफल भएको छ । छलफलका क्रममा प्रसाईंले लघुवित्त, सहकारीका समस्या र जेनजीका मागहरूका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीले मागहरूका बारेमा अध्ययन गर्न आगामी आइतबारसम्मको समय मागेको प्रसाईंले जानकारी दिए । उनका अनुसार आइतबार सहमति जुटेमा सोमबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने तयारी रहेको छ । प्रसाईंले आफ्ना मागहरू पूरा नभए आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुन नदिने चेतावनी दिएका छन्। एक पक्षलाई पीडामा राखेर अर्को पक्ष मात्र चुनावमा जान नसक्ने उनको तर्क छ ।

प्रसाईंले प्रधानमन्त्रीसँग ऋणीहरूको घरजग्गा लिलाम नगर्न र उनीहरूलाई रकम तिर्ने मौका दिन आग्रह गरेका छन् ।भेटमा प्रसाईंले जनमत सङ्ग्रह गर्न प्रस्ताव गरेका थिए । यसबारे प्रधानमन्त्रीले दुई तिहाइ बहुमतपछि मात्र सम्भव हुने जवाफ दिएको उनले बताए ।

भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा प्रधानमन्त्रीले ‘त्यो सक्दैनौ’ भन्ने जवाफ दिएको प्रसाईंको दाबी छ । सरकारका प्रवक्ता जगदीश खरेलले प्रसाईसँगको वार्ता सकारात्मक रहेको बताएका छन् । उनले वर्तमान सरकारले पूरा गर्न सक्ने मागहरू पूरा गर्न पहल गर्ने र बाँकी विषयहरू चुनावपछिको सरकारले सम्बोधन गर्ने जानकारी दिए ।

उक्त भेटवार्तामा प्रधानमन्त्रीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल र अर्थमन्त्री रामेश्वर खनालको समेत सहभागिता रहेको थियो। प्रसाईंको समूहले गत मङ्सिर ६ गतेदेखि नै विभिन्न मागहरू राख्दै ध्यानाकर्षण गराउँदै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.