आयोग प्रतिनिधिसभा निर्वाचनका लागि सामग्री जुटाउँदै 

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार ०७:५८

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक ५१ थरी निर्वाचन सामग्री जुटाउन थालेसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो ।आयोगका अनुसार तीमध्ये ३७ थरी सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत व्यवस्थापन गरिनेछ भने बाँकी १४ थरी सामग्री आयोगले केन्द्रबाटै उपलब्ध गराउने छ । निर्वाचन सामग्रीमध्ये ३७ थरी जिल्ला निर्वाचन कार्यालयले जुटाएर मतदान स्थलमा पठाउने छन्।

आयोगले जिल्ला निर्वाचन कार्यालयलाई आवश्यक सामग्री जुटाएर मतदान स्थलसम्म पुर्‍याउन निर्देशन दिइसकेको छ । आयोगका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत जुटाइने ३७ थरी सामग्रीका लागि करिब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पन्चिङ मेसिन, कपडा, मतदान केन्द्रका भित्रबाहिर प्रयोग हुने स्टिकरजस्ता सामग्री जिल्ला निर्वाचन कार्यालयले व्यवस्थापन गर्ने छन् ।

त्यसैगरी मतपत्र, मतपेटिका, मतदाता नामावली, लाहा छाप, मार्कर, पेन्सिल र छापलगायतका सामग्री निर्वाचन आयोगले केन्द्रबाटै जुटाउने छ । आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढिसकेको बताइएको छ ।

यसपटक निर्वाचन प्रयोजनका लागि नयाँ मतपेटिका तथा मतपत्र छाप्ने कागज खरिद नगरिने आयोगले जनाएको छ । आयोगसँग पर्याप्त मौज्दात रहेकाले नयाँ खरिद आवश्यक नपरेको हो । निर्वाचनका लागि आवश्यक ७५ हजार मतपेटिका आयोगसँग नै उपलब्ध छन् ।

आयोगले फागुनको पहिलो साताभित्र मतदाता नामावलीसहित सबै निर्वाचन सामग्री मतदान स्थलमा पठाइसक्ने लक्ष्य राखेको छ ।

यसैबीच, आयोगले मतदाता नामावली छपाइ प्रक्रिया सुरु गरेको छ । शुक्रबार औपचारिक रूपमा मतदाता नामावली छपाइको शुभारम्भ गरेसँगै निर्वाचन तयारीलाई अझ तीव्र बनाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार समानुपातिकतर्फ ५८ वटा चुनाव चिह्न मतपत्रमा समावेश हुनेछन् भने प्रत्यक्षतर्फ १ सय ७ वटा चुनाव चिह्न प्रयोग हुनेछन् । निर्वाचनमा १ सय २ वटा दलले छुट्टाछुट्टै चुनाव चिह्नसहित प्रतिस्पर्धा गर्ने भएका छन् ।

दल दर्ताका क्रममा नै चुनाव चिह्न रोज्ने सुविधा दिइएको आयोगले जनाएको छ । सकेसम्म दलहरूले रोजेकै चिह्न प्रदान गरिएको र दोहोरो दाबी परेमा मात्र विकल्प छान्न लगाइएको आयोगको भनाइ छ । पुराना दलले यसअघि प्रयोग गरिसकेको चिह्न नै पाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि कूल १ सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । ती सबै दलको दर्ता निवेदन स्वीकृत गरिएको आयोगले जनाएको छ ।

यस क्रममा विभिन्न कारण देखाउँदै १३ वटा दलको दर्ता खारेज भएको छ । हाल निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको संख्या १ सय ४३ पुगेको छ, जसमध्ये १ सय १४ वटा दल यस निर्वाचनमा सहभागी हुनेछन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.