
वीरगञ्ज । धनुषामा धार्मिक स्थलमा भएको तोडफोड र धार्मिक ग्रन्थ जलाइएको घटनालाई लिएर आइतबार वीरगञ्जमा भएको प्रदर्शनले उग्र रूप लिएको छ। मुस्लिम समुदायले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो।
धनुषाको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले बिहानैदेखि घण्टाघर र छपकैया क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गर्ने क्रममा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति बिग्रिएको हो।
सो क्रममा प्रदर्शनकारीले छपकैयास्थित प्रहरी बिटमा तोडफोड समेत गरेका छन्। भीड अनियन्त्रित बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको पर्साका डीएसपी राजु कार्कीले जानकारी दिए। प्रहरीको हस्तक्षेपपछि अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो सबै तनावको जड शनिबार धनुषाको कमला नगरपालिका–६, सखुवा मरानमा भएको एक घटना हो। प्रहरीका अनुसार सुरुमा दुई जना मुस्लिम युवकले हिन्दुहरूको पर्व रक्षाबन्धनप्रति लक्षित गर्दै नकारात्मक सन्देश दिने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
भिडियो सार्वजनिक भएपछि आक्रोशित युवाहरूले दोषीलाई कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरे। प्रहरीले भिडियो बनाउने दुवै युवकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे पनि केही समूहले मस्जिदमा पुगेर तोडफोड र धार्मिक ग्रन्थ जलाएपछि घटनाले साम्प्रदायिक मोड लिएको हो।
धनुषा र पर्सा दुवै जिल्लाका सुरक्षा अधिकारीहरूले सामाजिक सञ्जालमा आउने भ्रामक पोस्टका पछि नलाग्न र धार्मिक सद्भाव कायम राख्न सबैमा अपील गरेका छन्। धनुषा प्रहरी प्रमुख रुग्म कुँवरले दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।























