जाँचबुझ आयोगद्वारा ओलीसहित सबैको ‘स्थानहद’ फुकुवा

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १५:४५

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका विशिष्ट व्यक्तिहरूमाथि लगाएको स्थानहद (उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक) फुकुवा गरेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि स्थानहद फुकुवा भएको जानकारी दिएका हुन्। ओलीसँगै अब यो प्रकरणमा जोडिएका सबै अधिकारीहरूको स्थानहद हटेको छ।

यसअघि आयोगले असोज १२ गते निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापामाथि स्थानहद लगाएको थियो। आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका छाड्न र विदेश भ्रमण गर्न उनीहरूलाई रोक लगाइएको थियो।

आयोगले अनुसन्धान प्रक्रियाका आधारमा चरणवद्ध रूपमा स्थानहद फुकुवा गर्दै आएको थियो। अनुसन्धान प्रमुख थापाको यसअघि नै र पूर्वगृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ तथा पूर्व प्रजिअ रिजालको पुस ७ गते स्थानहद फुकुवा गरिएको थियो। त्यस्तै, पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको रोक पुस १७ गते हटाइएको थियो। सोमबार अध्यक्ष ओलीको पनि स्थानहद हटेसँगै आयोगको यो बन्देज पूर्ण रूपमा समाप्त भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.