
विराटनगर । मोरङको बेलबारीमा आयोजना हुने ‘दोस्रो बेलबारी महोत्सव’ को तयारी पूरा भएको छ । बेलबारी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा रहेको बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले पुस २५ देखि माघ ५ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले महोत्सव आयोजना गर्नको मुख्य उद्देश्य भनेको स्थानीय उत्पादन, स्थानीय खानाका परिकार र पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै बेलबारीलाई आर्थिक गतिविधिसँग जोड्नका लागि गर्न लागेको प्रस्ट्याए ।
‘स्वदेशी रोजौँ, स्वावलम्बी बनौँ,’ र ‘स्थानीय उत्पादनलाई प्राथमिकता–स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने महोत्सवको मुख्य नारा रहेको बताउँदै, राईले भने, ‘महोत्सवले स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन, स्थानीय खानाका परिकारको प्रचारप्रसार हुने र यसले आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने लक्ष्य राखेका छौँ । महोत्सवलाई भव्य रूपमा सफल बनाउन सबै पक्षलाई आउन अनुरोध गर्दछु । हाम्रो ध्येय नै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादन ब्रान्डका रूपमा स्थापित गराउनु पनि हो । यहाँ कृषि, पर्यटन र स्थानीय खानका विभिन्न परिकारहरूको प्रचारप्रसार राम्रोसँग गर्न सक्यौँ भने बेलबारीमा आर्थिक गतिविधि चलायमान हुनसक्ने विश्वास राखेका छौँ ।’
सो अवसरमा बोल्दै संघका महासचिव विवेक मिश्रले महोत्सव नाफा कमाउनुभन्दा पनि स्थानीय उत्पादन, खानाका परिकार र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नु नै हो । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र करोडौँ रुपैयाँको कारोबार हुने अपेक्षा गरेको उनले बताए ।
महोत्सवमा करिब १ करोड ६७ लाख रुपैयाँ आम्दानी हुने र १ करोड २७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट बचत हुने अनुमानित ४० लाख रुपैयाँ उद्योग वाणिज्य संघ बेलबारीको आफ्नै भवनको माथिल्लो तलामा बहुउद्देश्यीय सभा हल निर्माणमा खर्च गरिने संघले जनाएको छ ।
महोत्सवमा ६३ वटा व्यापारिक स्टलहरू रहने छन् । महोत्सवमा कृषि, पशुपंक्षी, औद्योगिक उत्पादन, हस्तकलाका सामग्री, खानाका परिकारका साथै सवारी साधनका स्टलहरू रहने छन् ।
यसका साथै महोत्सवलाई साँगीतिक माहोल बनाउने बताउँदै, मिश्रले भने, ‘बालबालिकादेखि वृद्धिसम्मका सबैले महोत्सवमा मनोरञ्जन लिन सक्ने छन् । महोत्सवमा दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरूको साँगीतिक कार्यक्रम हुनेछ । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई पनि यसले सफल बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

























