
काठमाडौँ । लामो प्रतीक्षापछि नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजको पहिलो दिनमै उत्साहजनक शो र दर्शकको साथ पाएको छ।
देशभर करिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ ले बक्स अफिसमा बलियो ओपनिङ गर्ने संकेत देखाएको छ। काठमाडौँ उपत्यकाका मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म बिहानी शोमा दर्शकको चाप देखिएको वितरकले बताएका छन्। पहिलो शो हेरेर निस्किएका दर्शकले चलचित्रको कथावस्तु, नयाँ कलाकारको अभिनय र प्रस्तुति शैलीको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। चलचित्र टोलीले पनि बिहानैदेखि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ।
प्रेम कथाका फिल्म निर्देशनमा सफल मानिने निर्देशक दिनेश राउतले ‘कुमारी’ लाई निर्देशन गरेका हुन्। यस चलचित्रमा प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई कलात्मक रूपमा देखाइएको छ। यही चलचित्रमार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकारको अभिनय छ।
महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केदार भुसाल हुन्। विकास सुवेदीले लेखेको यो चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ। मौलिक कथा वाचनका कारण चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ।

























