त्यो एक दिन

Share this
693shares
मुलुकी खबर
खगप्रसाद नेपाल
clock२०८२ फाल्गुन २, शनिबार ११:४६

पुस मसान्तको दिन उसले शाखा अधिकृत पदमा नियुक्ति लिएर दूधजस्तो सेतो दौरा-सुरुवाल, निख्खर कालो कोट, कालो भादगाउँले टोपी र बाँसबारी छाला तथा जुत्ता कारखानामा बनाइएको टलक्क टल्किने कालो जुत्ता लगाएर अड्डा जान थालेको थियो। त्यसो त त्यो औपचारिक पोसाक लगाएरै अड्डा जानुपर्ने अनिवार्य व्यवस्था नभए पनि अरूले अधिकृत हो भनेर चिनुन् भनेर पनि ऊ यही पोसाक लगाउने गर्थ्यो र ऐना हेरेर ऊ गजक्क फुल्थ्यो पनि।

जागिर खान थालेको सातै दिनमा “बा सिकिस्त बिरामी हुनुहुन्छ, मुख हेर्न तुरुन्त घर आउनू” भन्ने व्यहोराको उसको नाममा ‘आवा’ आयो। बा बिरामी भन्ने खबरले पीडा त छँदै थियो, भर्खर जागिरमा प्रवेश गरेकाले बिदा पाइँदैन होला भनेर ऊ चिन्तित भयो। तर तत्कालीन हाकिम विषयको गम्भीरता बुझ्ने र कर्मचारीलाई परेको मर्का बुझेर माया समेत गर्ने खालका थिए। उनले स्थायी नियुक्ति लिएको एक हप्तामै ‘तपाईँको बुवाको शीघ्र स्वास्थ्य लाभको कामना’ भन्दै बिदा स्वीकृत गरिदिएकाले ऊ भोलिपल्टै घरतिर लाग्यो। भगवान्‌को कृपाले ऊ घर पुग्दा बाको स्वास्थ्यमा सुधार आइसकेको हुनाले ऊ घर पुगेको भोलिपल्टै फर्कियो र एक हप्तामै अड्डामा हाजिर हुन सक्यो।

ऊ यथासमयमा अड्डा जान्थ्यो। कामको प्रकृति बुझ्दै मात्र थियो, घरबाट आएको चारै दिनमा रुपाको महिनावारी भयो। त्यसो त रुपाको पनि जागिर नै थियो। त्यसो भए पनि खानपिन र बच्चाको व्यवस्थापन उनैले गर्थिन्। ऊ भने भान्छाको काम गर्न र बच्चा हेर्न उनलाई सघाउने काम मात्र गर्थ्यो। अरू त त्यस्तै हो, अब उनले खाना बनाउने काम नगरेपछि उसलाई भान्छाको थप कार्यबोझ त हुने नै भयो।

त्यही सालको माघ महिनाको चौथो मङ्गलबारका दिन अर्थात् आजभन्दा ४४ वर्ष अगाडिको आजकै दिन बिहान ऊ जुरुक्क उठेर बाहिर निस्केर पहिले चर्पी गयो। बाहिर धारामा हातमुख धोयो। भित्र पसेर लुगा लगायो। स्वेटर लगायो। स्वेटरमाथि ज्याकेट पनि लगायो। काठमाडौँमा अहिलेजस्तो जाडोका बाक्ला र सस्ता लुगा पाइँदैनथे। त्यसैले जस्तो थियो, त्यस्तै लगायो। अनि चुरोट सल्काएर हिँड्यो डेरीको दूध लिन। दूध आइपुगेको थिएन। ऊ फुटपाथमा दूध लिने लाइनमा बस्यो। निकै ढिला भएपछि मात्र दूध बोक्ने ट्रक आएको देखियो। ट्रकबाट दूधको क्यारेट झार्दै गर्दा लाइन मासियो र लाइन भिडमा परिणत भयो। लड्डी खेलेर येनकेन उसले दूध लिएरै छोड्यो।

दूध लिएर सरासर घर आयो। छिँडीको चुल्होमा पस्यो। घडी हेर्दै ‘अब छिटो भात नपकाए ऊ समयमा अड्डा पुग्न सक्दैन’ भन्ने सोच्यो। भुसे चुल्हो बाल्न खोज्यो। भुस सकिएको रहेछ। ‘भरे अड्डाबाट फिरेपछि भुस लिन जानुपर्ला’ भन्ने सोच्यो।

पम्पवाला स्टोभमा दम दियो। सलाई कोरेर बाल्यो। स्टोभ राम्ररी बलेन। पिन खोजेर प्वालमा घोचेको मात्र के थियो, पिन त्यहीँ भाँचियो। स्टोभ निभ्यो। ‘अब के गर्ने होला?’ भन्ने सम्झियो। बच्चाहरूलाई खुवाएर उनीहरूको दिनभरिको व्यवस्थापन गरेर दुवै जना निर्धारित समयमा अड्डा पुग्नुपर्ने थियो। अनि उसले फितावाला स्टोभ सम्झियो। तेल सकिएको रहेछ। यसो जर्किनमा हेर्‍यो, अलिकति तेल बाँकी रहेछ। तेल हालेर स्टोभ सल्कायो।

नपाकेको तर गिलो भात, त्यस्तै दाल र साग खायो, खुवायो। घरको सहयोगी भाइले बच्चाको दूध सकिएको कुरा सुनायो। ‘म भरे आउँदा लिँदै आउँला’ भन्दै हत्तपत्त लुगा लगाएर अड्डातिर दौडियो।

बच्चाको दूध पनि लिनुपर्ने र भुस पनि लिनुपर्ने भएकाले अड्डाबाट ऊ अलिक चाँडै निस्कियो। बच्चाको बट्टाको दूध ‘एङ्कोरिया’ खोज्न ऊ बानेश्वरदेखि ज्ञानेश्वरसम्म, डिल्लीबजारदेखि बागबजारसम्म तथा असनदेखि मखनसम्म घुम्यो। कतै पाइएन। पछि फर्कँदै गर्दा बाटैमा एउटा पसलमा सोकेसमा दूधको बट्टा राखिएको देखेर माग्यो। ‘यो बिक्री भइसकेको’ भनेर पसलेले दिन मानेन।

‘तपाईँलाई अभरै परेको भए १० रुपैयाँ बढी दिनुहोस्, म उसलाई मिलाउँला’ भन्यो पसलेले। भनेको बेला नपाइने हुँदा उसले ‘अर्को व्यक्तिलाई पनि मिलाइदिनु, म अर्को १० रुपैयाँ थप्छु’ भन्यो र दुई बट्टा एङ्कोरिया बोकेर घर गयो।

घरमा पुगेर ठाडै खुट्टा ठूलो क्विन्टल साइजको जुट बोरा बोकेर काठको धुलो लिन लाग्यो मिलतिर। कामदारले “मैले बेचिसकेको छु, धुलो कसैलाई नदिनु भन्नुभएको छ मालिकले” भनेर दिन मानेन। उसलाई ५ रुपैयाँ दिने भनेपछि बल्ल दिन मान्यो।

‘केमा लानुहुन्छ?’ कामदारले सोध्यो।
‘ठेलामा त होला नि!’ उसले जवाफ दियो।
‘त्यसो भए हाम्रै ठेलावाललाई मिलाउनु, उसैले भरिदिन्छ’ कामदारले भन्यो।

ठेलावाललाई पनि अलिकति अतिरिक्त पैसा दिने भनेपछि खाँदीखाँदी हालिदियो धुलो। घर जाँदा बाटैमा सम्झियो, “पम्पवाला स्टोभ पनि बनाउन लानु छ, पसल बन्द भइसक्ने हो कि! त्यसै बेला मट्टीतेल पनि ल्याउनुपर्ला।”

‘बच्चा भोकाइसके होलान्, पहिले भुसे चुल्हो भरेर बाहिर जानुपर्ला’ सम्झियो र भर्न थाल्यो। त्यसपछि पम्पवाला स्टोभ घोप्टो पाऱ्यो र भुइँमा यसो ठोकेको के थियो, पिन तल झर्‍यो। उसलाई ठुलै युद्ध जितेझैँ लाग्यो। भए पनि मट्टीतेल लिन त जानु नै थियो। र दौडियो जर्किन बोकेर।

मट्टीतेल लिएर आयो र लुगा नफेरी भात बसायो। रुपाले तरकारी काटेर ठीक पारिदिएको भएर सजिलो भयो। सम्झियो, ‘भोलि त रुपाको चार दिन, अर्थोक जे भए पनि भान्छाको व्यवस्थापन उनैले गर्छिन्। आफूले त सघाउने मात्र न हो। जवाफदेही आफूले लिनु नपर्दा धेरै हलुका हुन्छ।’

बच्चालाई खुवाएर सहयोगी भाइ र रुपालाई पनि खाना पस्केर दियो। आफूले पनि खायो। थाकेर उसलाई कुन बेला ओछ्यानमा गएर पल्टिऊँजस्तो भएको थियो। अब बाँकी धन्दा त सहयोगी भाइले गरिहाल्थ्यो। बच्चा सुताउने काम रुपाले गरिहाल्थिन्।

ओछ्यानमा पल्टेको मात्र थियो, ‘दिउँसो हुलाकीले चिठी दिएर गएको थियो, मैले अघि दिन बिर्सेछु’ भन्दै सहयोगी भाइले एउटा चिठी दिएर गयो। उसले चिठी खोलेर हेर्‍यो। पहिले स्कुलमा सँगै काम गरेका शिक्षक साथी प्रह्लादले लेखेका रहेछन्।

गाउँघरतिर तथा स्कुलमा सबै राम्रै भएको खबर लेखेका रहेछन्। उसको घरको ‘नक्कली भैँसी’ (नैनु गाई वा कुनै विशेष नाम हुन सक्छ) भने डिलबाट खसेर लडेर मरेछ र बा-आमाले साह्रै पिर मान्नुभएको पनि लेखेका रहेछन्। ‘हामी त जहाँको तहीँ छौँ, तपाईँ त यत्रो ठूलो सरकारी अधिकृत हुनुभएको छ। मोज होला तपाईँलाई। यहाँभन्दा खुसी हुने अरू के हुन्छ र! सुखपूर्वक बस्नुभएको होला। खुसी हुनुहोस्, सुखी हुनुहोस्। हाम्रो शुभकामना छ। जे जति ठूलो पदमा पुगे पनि हामीलाई चाहिँ नबिर्सनुहोला’ भन्दै अधिकृत भएपछिको सुखानुभूति चाहिँ लेखेर पठाउनु होला आदि त्यस्तै त्यस्तै लेखिएको रहेछ चिठीमा।

चिठी पढिसकेपछि उसले आमाले भात पकाएर खुवाएको, प्रह्लाद सरसमेत साथीहरूसँग स्कुलमा रमाइलो गरेको सम्झियो र खुसी भयो। अनि आज बिहान उठेदेखि नसुतुन्जेलसम्मको दिनचर्या सबै सम्झियो र दिक्क मान्यो। उसलाई अधिकृत भएपछि आजकै जस्तो निरन्तर प्राप्त भइरहेको ‘सुख’ का विषयमा लेखेर प्रह्लाद सरलाई पठाउन मन लाग्यो। आजकै कथा लेखे पनि सरले सुख बुझ्नुहुन्छ जस्तो लाग्यो उसलाई। यही आजको दिनचर्या लेखेर पठाइदिनु पर्‍यो भन्ने सम्झिँदै थियो, थकान बढी भएर होला, भुसुक्कै निदाएछ।

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×