
विराटनगर । भारतबाट तस्करी गरेर ल्याएको चस्मा विराटनगरमा बरामद भएको छ ।
भारतको जोगनवीबाट अवैध रुपमा ल्याइएको ५ हजार ४ सय १० थान चस्मा विराटनगर महानगरपालिका–९ घोघापुल चोकबाट प्रहरीले बरामद गरेको हो । १४ वटा पोका बनाएर ल्याइएको चस्मा सीआरभी घोघापुलबाट खटिएको टोलीले आइतबार अपरान्ह ४ः५० बजेतिर बरामद गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।
उनका अनुसार बरामद गरिएको चस्माको मूल्य ५ लाख ४१ हजार रूपैयाँ बरामद छ । बरामद गरिएको चस्मा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
तस्करीको चस्मा बेवारिसे अवस्थामा फेला परेको र ओसारपसार एवं अवैध धन्दामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले चस्मा तस्करीमा संलग्नको खोजी तीव्र पारेर थप अनुसन्धान गरिरहेको छ ।























