
विराटनगर । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। उदयपुरको बेलका नगरपालिका घर भई हाल अमेरिका बस्दै आएका ५० वर्षीय छत्रबहादुर थापाले ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान करिब ५:१५ बजे पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र थापाले धारिलो हतियार प्रयोग गरी सो घटना गराएका थिए। घटनाका समयमा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत बाहिर गाडीबाट हिउँ हटाइरहेका थिए। घरभित्र असामान्य कोलाहल सुनेपछि बस्नेतले तत्काल ९११ मा फोन गरी प्रहरीलाई खबर गरेका थिए। घरभित्र पस्दा श्रीमती र सासूलाई गम्भीर घाइते अवस्थामा देखेपछि उनले बचाउने प्रयास गर्दा थापाले उनीमाथि पनि आक्रमण गरेका थिए।
प्रहरी घटनास्थल पुग्दा थापाले बस्नेतमाथि आक्रमण गरिरहेको फेला पारेको थियो। प्रहरीले पटक-पटक हतियार छोड्न आदेश दिँदा पनि नमानेपछि बाध्य भएर गोली चलाएको जनाइएको छ। प्रहरीको गोली लागेर थापाको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका बस्नेतको अस्पतालमा उपचार भइरहेको छ।
अपार्टमेन्टभित्र रहेका एक वर्षका शिशु भने सकुशल फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त परिवारको कुनै पुरानो आपराधिक इतिहास वा प्रहरीमा दर्ता भएको उजुरी नभेटिएको बताइएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको र प्रहरीले समुदायका सदस्यहरूसँग समन्वय गरिरहेको छ।
























