
बिर्तामोड । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै कडा आपत्ति जनाएका छन्। झापा क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका घिमिरेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको टिप्पणी संसदीय मर्यादा र सत्यताभन्दा टाढा रहेको स्पष्ट पारेका हुन्।
आजै बिहान बिर्तामोडमा आयोजित रास्वपाको चुनावी सभामा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै आलोचना गरेका थिए। सोही सन्दर्भमा घिमिरेले जवाफ दिँदै संसदीय अभ्यासमा माइक काट्नु सभामुखको व्यक्तिगत इच्छा नभई पूर्वनिर्धारित समय र संसद्को नियमावली अनुसार हुने नियमित प्रक्रिया भएको बताएका छन्। उनले भनेका छन्, ‘संसद्को कार्यप्रणालीबारे सामान्य जानकारी राख्ने व्यक्तिले पनि यो बुझ्न सक्छ कि छलफललाई व्यवस्थित बनाउन समय निर्धारण गरिन्छ।’
घिमिरेले लामिछानेलाई उल्टै प्रश्न गर्दै सांसद पदमा बहाल रहन सक्ने कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मतदातासँग मत मागिरहनुभएको छ भनी प्रश्न गरेका छन्। उनले संसद्को वेबसाइटमा उपसभामुख वा अन्य सदस्यले सभा सञ्चालन गर्दा पनि समय सकिएपछि माइक स्वतः काटिने उदाहरण दिँदै लामिछानेले चुनावी फाइदाका लागि नियोजित रूपमा भ्रम फैलाएको दाबी गरे।
लोकतान्त्रिक प्रतिस्पर्धालाई व्यक्तिगत आरोप र घृणाले प्रभावित पार्न खोज्नु दुःखद भएको घिमिरेको ठम्याइ छ। उनले आफू यसअघि नै प्रतिस्पर्धी उम्मेदवारबारे अनावश्यक टिप्पणी नगर्ने प्रतिबद्धतामा अडिग रहेको समेत स्मरण गराएका छन्। झापामा चुनावी सरगर्मी बढ्दै जाँदा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू बीचको वाकयुद्धले माहोल थप तातेको छ।

























