
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जु दर्शनाले छोरा जन्माएकी छन्। उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान पुत्रलाभ गरेकी हुन्।
पारिवारिक स्रोतका अनुसार अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा उनी गर्भावस्थाकै अवस्थामा पनि निकै सक्रिय थिइन्। केही दिनअघिसम्म उनी काठमाडौँ–१ का विभिन्न टोलमा घरदैलो कार्यक्रममा व्यस्त देखिएकी थिइन्।
उनको गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भए पनि उनले त्यसलाई वास्ता नगरी आफ्नो राजनीतिक अभियानलाई निरन्तरता दिएकी थिइन्। रञ्जुले शारीरिक अवस्थाका कारण सुरुमा समानुपातिक सूचीमा बस्ने विचार गरे पनि पछि प्रत्यक्षतर्फ नै चुनाव लड्ने साहस देखाएकी थिइन्। चुनावी मैदानमै रहेका बेला उनलाई पुत्रलाभ भएपछि शुभचिन्तकहरूले बधाई दिइरहेका छन्।
























