
सुनसरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सुनसरीमा मतदान कार्यमा खटिने कर्मचारीहरूका लागि विशेष तालिम सुरु गरिएको छ। इनरुवा–५ स्थित सारदा माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको तालिममा जिल्लाका १६७ मतदानस्थलमा खटिने कर्मचारीहरू सहभागी छन्।
जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार कर्मचारीहरूलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापन, मतदान प्रक्रिया र कानुनी पक्षबारे विस्तृत प्रशिक्षण दिइएको छ।
सुनसरीमा रहेका चारवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूमा निष्पक्ष र शान्तिपूर्ण रूपमा मतदान गराउन यो तालिम महत्त्वपूर्ण हुने निर्वाचन कार्यालयले जनाएको छ। तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई उनीहरूको जिम्मेवारी र कार्यक्षेत्रबारे स्पष्ट पारिएको छ।
यो प्रशिक्षण कार्यक्रम आगामी शुक्रबारसम्म जारी रहनेछ। जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरीमा ५ लाख ८० हजारभन्दा बढी मतदाता रहेका छन् र निर्वाचनका लागि ५९१ भन्दा बढी मतदान केन्द्रहरू निर्धारण गरिएको छ।
सुरक्षाका दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले दक्षिणी सीमा नाकाहरूमा विशेष निगरानी बढाएको छ। ५९ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेर सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत सुरक्षा योजना लागू गरिएको छ।
























