
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै छ । उक्त प्रभावका कारण आज (बिहीबार) चार प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणदेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ । ती क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, बिहानको समयमा केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्न सक्नेछ ।
वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
























