
काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म अत्यावश्यक बाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
आयोगले गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिँदै निषेधित कार्य रोक्न र उल्लंघन भए तत्काल कारबाही गर्न आग्रह गरेको हो । फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन पनि आयोगले निर्देशन दिएको छ ।
आयोगका अनुसार निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम उल्लंघन गर्नेलाई कारबाही गरिनेछ । मतदानका दिनभन्दा केही समयअघिदेखि नै अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाइनेछ ।
मतदानका दिन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी र आधिकारिक पास प्राप्त सवारीसाधन मात्र चल्न पाउनेछन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन हुनेछन् ।
टिकट भएका यात्रुले विमानस्थल आवतजावत गर्दा निजी वा सम्बन्धित एयरलाइन्सको सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाइने आयोगले जनाएको छ । मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लिनुपर्नेछ ।
मतदानका दिन फागुन २१ गते सवारी पास वितरणका लागि निर्वाचन आयोगको सचिवालय परिसरमा विशेष एकाइ खडा गरिने पनि जनाएको छ ।
























