
सुनसरी । सुनसरीको इटहरीमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
इटहरी उपमहानगरपालिका–१३ प्रगति टेक्स्टायल अगाडि बुधबार राति ९ः३० बजेतिर दुर्घटना भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार विराटनगरबाट इटहरी आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा राति ११ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक इटहरीका २२ वर्षीय विकी विश्वकर्मा पनि घाइते भएका छन् । उनको विराटनगरकै विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको कारले प्रदेश १–०२–००३ ह ४८९८ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारले ठक्कर दिँदा अटो चालक वसन्त घिसिङ र अटोमा सवार प्रेमकुमार गुरुङ घाइते भएका छन् ।
दुवै जनाको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

























