
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ। उच्च अदालत पाटनमा बिहीबारका लागि तोकिएको पेसी सरकारी वकील कार्यालयको निवेदनका कारण स्थगित भएको हो।
न्यायाधीशद्वय ऋषि राजभण्डारी र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासमा यो मुद्दाको पेसी तोकिएको थियो। रायमाझी र झा दुवैले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ बमोजिम थुनामुक्त हुन माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। यसअघि जिल्ला अदालत काठमाडौँले उनीहरूलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनीहरू पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन्।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७१ (२) मा अभियुक्त कसुरदार होइन भन्ने मनासिब आधार देखिएमा मुद्दाको जुनसुकै अवस्थामा पनि अदालतले थुनाबाट छाड्ने आदेश दिन सक्ने व्यवस्था छ। रायमाझीले सोही दफामा टेकेर आफूलाई थुनामुक्त गर्न माग गर्दै आएका छन्।
भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनीहरू कारागारमै रहेर कानुनी लडाइँ लडिरहेका छन्।
























