
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री रिपोर्टलाई हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई औपचारिक पत्र पठाएको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्र पठाइएको जानकारी दिएका छन् । बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी तथा नेपाली भाषामा एकैसाथ सार्वजनिक गरेको रिपोर्टमा भदौ आन्दोलनको घटनाक्रम तथा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख (आईजीपी) चन्द्रकुवेर खापुङले आदेश दिएको उल्लेख छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार, ‘बीबीसीको रिपोर्ट हटाउन भन्दै आयोगले प्रेस काउन्सिललाई पत्र पठाएको हो ।’ यो पत्रपछि प्रेस काउन्सिलले के कदम चाल्नेछ भन्ने विषयमा अझै स्पष्टता आएको छैन ।
बीबीसीको रिपोर्टले भदौ आन्दोलनको विस्तृत घटनाक्रम उजागर गर्दै प्रहरी दमनको आदेशसमेत उल्लेख गरेपछि समाजमा व्यापक बहस सुरु भएको छ । आयोगको पत्र र बीबीसीको रिपोर्टबीचको यो विवादले नेपालमा सञ्चार स्वतन्त्रता एवं सरकारी नियमनको सन्दर्भमा नयाँ बहस सुरु गरेको छ ।
























