
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न पूर्ण रूपमा रोक लगाएको छ। आगामी निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय लिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा खुला सडक र सार्वजनिक स्थानमा भिडभाड गर्ने, सांगीतिक कार्यक्रम गर्ने र मादक पदार्थ बिक्री वितरण तथा सेवन जस्ता कार्य नगर्न आग्रह गरिएको छ। निर्वाचन आचारसंहिता प्रतिकूल हुने कुनै पनि गतिविधि हुन नदिन प्रशासनले विशेष कडाइ गरेको हो। होली मनाउने बहानामा चुनावी प्रचारप्रसार हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै यस्तो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिर अंकित कपडा, टोपी, मास्क, स्टिकर वा झोला प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। विशेषगरी होलीलाई लक्षित गरी निर्वाचन चिह्न अंकित टिसर्ट, गम्छा र ब्याचहरू लगाउन पाइने छैन।
होली पर्वलाई मर्यादित बनाउन कसैको इच्छाविपरीत रङ दल्न, अबिर हाल्न वा लोला हान्न समेत निषेध गरिएको छ। प्रशासनको यो निर्देशन उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
























