
विराटनगर। झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार सङ्कलनका क्रममा रहेका पत्रकार अर्जुनकुमार आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने नेकपा एमाले निकट ‘भोलेन्टियर्स फोर्स’का सदस्यहरू विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
घाइते पत्रकार आचार्यले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा उपस्थित भई दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।
‘हाम्रोमत’ अनलाइनका कार्यकारी सम्पादक तथा रातोपाटीका संवाददाता आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवनचोकमा आक्रमण भएको थियो। (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियानका क्रममा केही महिलाहरूले ‘घण्टी’मा भोट हाल्ने बताएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील गालीगलौज गरेका थिए। सोही घटनाको भिडियो खिचिरहेका आचार्यलाई भोलेन्टियर्स फोर्सको समूहले मुक्का र बुट प्रहार गर्दै निर्घात कुटपिट गरेको थियो।
आचार्यले दर्ता गरेको जाहेरीमा कमल गाउँपालिका–६ का युवराज पाठकसहित पाँच जनाको समूहलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरी कारबाही गर्न माग गरिएको छ। जाहेरीमा ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन, लुटिएको मोबाइल र चस्मा फिर्ता गर्न तथा उपचार खर्च र क्षतिपूर्ति भराउन माग गरिएको छ।
आक्रमणका बेला एमाले अध्यक्ष ओली केही मिटरकै दुरीमा रहे पनि आफ्नै कार्यकर्ताले पत्रकार कुट्दा कुनै चासो नदेखाएको पीडितको गुनासो छ। आक्रमणपछि आचार्यलाई अपहरण गर्ने उद्देश्यले स्कारपियो गाडीमा चढाउन खोजिएको र दमक पुगेर ‘थप देखाइदिने’ धम्की दिइएको समेत जाहेरीमा उल्लेख छ।
हाल आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको बताएका छन्।
























