
काठमाडौं । निर्वाचन आयोगको निर्देशन अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
आयोगले मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन चुनावको अघिल्लो रातिदेखि नै सवारी आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो । निर्वाचनको अघिल्लो दिनदेखि नै लामो तथा मध्यम दूरीका रात्रि बसहरू सञ्चालन हुने छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले फागुन २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू मात्र चलाइने जानकारी दिए । उनका अनुसार सो रात्रिका लागि बसहरूको टिकटसमेत काटिने छैन ।
फागुन २० गते दिउँसोसम्म भने नियमित रूपमा सवारी सञ्चालन हुनेछ । तर, तोकिएको समयपछि कुनै पनि सार्वजनिक सवारी सञ्चालन नगर्ने व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । ‘तोकिएको समयमै सवारी रोक्छौँ । नियमविपरीत सञ्चालन गर्ने कुरा हुँदैन,’ सिटौलाले भने ।
एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुनेछन् । सञ्चार गृहलगायत अन्य अत्यावश्यक सेवामा संलग्न सवारीसाधनले आयोगबाट पास लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।
निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिने र मतदान केन्द्र आसपास सवारी आवागमन विशेष रूपमा नियन्त्रण गरिने जनाइएको छ । आयोगले सबै नागरिकलाई संयमता अपनाई तोकिएको नियम पालना गर्न अपिल गरेको छ ।
























