
काठमाडौं । देशभर हाल उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस प्रणालीका कारण विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आज (आइतबार) हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । ती क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको हो ।
आइतबार दिउँसो देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा तुवाँलो लाग्ने सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ । राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराईका थोरै स्थानमा तुवाँलो कायम रहने सम्भावना छ ।
























