लोकतान्त्रिक अनुशासनको परीक्षा बन्यो होली र रमजान, मोरङसहित देशभरको सुरक्षा व्यवस्था कडा

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार १२:१५

विराटनगर । रंगहरूको उत्सवका रूपमा परिचित होली यस वर्ष मोरङसहित देशभर फरक राजनीतिक संवेदनशीलताको बीच मनाइँदैछ । यसवर्ष हिन्दु धर्मावलम्बीहरुको पर्व होली पहाडी जिल्लाहरूमा फागुन १८ गते सोमबार र तराई क्षेत्रमा फागुन १९ गते मंगलबार परेको छ ।

रंगहरुको पर्वका रूपमा हर्षोल्लासपूर्ण हिसाबले होली मनाउने तयारी भइरहँदा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचन पनि नजिकिएको छ । निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि नै लागू हुँदैछ । त्यही भएर होलीको उत्सव र चुनावबीच सन्तुलन कायम गर्न प्रशासनले विशेष सतर्कता अपनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अत्यन्त जरुरी सूचना जारी गर्दै यस वर्ष होली घरपरिसरभित्र सीमित भई मनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक स्थलमा होली नमनाउन, सामूहिक भोज, सांस्कृतिक कार्यक्रम, प्रतियोगिता तथा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ ।

निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै सभ्य र संयमित ढंगले परिवारभित्र मात्र पर्व मनाउन अपिल गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । चुनाव नजिकिएसँगै मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा समेत प्रतिबन्ध लगाइएको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको प्रजिअ कटेलको भनाइ छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त कदम चालिएको उनले बताए ।

सूचनाविपरीत गतिविधि भए प्रचलित कानूनअनुसार तत्काल कारबाही गरिने चेतावनीसमेत दिइएको छ । होली परम्परागत रूपमा सार्वजनिक स्थलमा रंग दलेर र सामूहिक रूपमा नाचगान गर्दै मनाइने पर्व हो ।

विशेषतः तराई–मधेश क्षेत्रमा होलीको सांस्कृतिक र सामाजिक महत्त्व उच्च छ । युवापुस्ता, बालबालिका र समुदायका विभिन्न समूहबीचको अन्तरक्रिया तथा उल्लासले यस पर्वलाई सार्वजनिक आयाम दिन्छ । तर, यस वर्ष भने त्यही सार्वजनिकता सम्भावित चुनौतीका रूपमा देखिएको छ ।

अधिकारीहरूका अनुसार सार्वजनिक रूपमा रंग खेल्ने क्रममा राजनीतिक नाराबाजी, समूहगत प्रतिस्पर्धा वा झडप हुन सक्ने जोखिम छ । चुनाव नजिकिँदा विभिन्न राजनीतिक दलका समर्थकहरू सक्रिय हुने र सामाजिक सञ्जालमार्फत उक्साहट फैलन सक्ने भएकाले होलीको भिडभाडलाई दुरुपयोग गरेर चुनाव प्रभावित पार्ने प्रयास हुन सक्ने आकलन गरेर कडाइ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

इस्लाम धर्मावलम्बीहरुको महान महिना रमजानुल मुवारक (रमजान) पर्व पनि फागुन १९, २० र २१ गते परेको छ । रमजान (१३, १४ र १५ हिजरी) निर्वाचनको मौन अवधि र मतदानका दिन परेकाले निर्वाचन संवेदनशीलतालाई मध्यनजर गरी प्रशासनले घरपरिवारभित्र मात्रै सीमित गर्न आह्वान गरेको छ ।

मोरङ प्रशासनले सार्वजनिक रुपमा नभइकन सभ्यतापूर्वक आफ्नो परिवारमा मात्रै सीमित रहेर पर्व मनाउन आग्रह गर्दै सूचना जारी गरेको छ । साथै, घर बाहिर र मस्जिदमा कुनै पनि भोजभतेर, सांस्कृतिक कार्यक्रम र निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न प्रशासनले आह्वान गरेको छ ।

सुरक्षा अधिकारीहरुले यसवर्षको होली तथा रमजानमा हुनसक्ने घुसपैठलाई चुनावी चुनौतीका रूपमा लिएका छन् । त्यही भएर मोरङसहित देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘विभिन्न समुदाय र धर्मावलम्बीहरु पर्व मनाउन व्यस्त रहन्छन् । त्यस्तो बेला विभिन्न दल वा चुनावविरोधी तत्वले घुसपैठ गरिदिने सम्भावना रहन्छ । घुसपैठ र निर्वाचनविरुद्धका गतिविधि हुन नदिन बेलैमा सावधानी अपनाएर सुरक्षा व्यवस्था कडा पारिएको एक जना सुरक्षा अधिकारीले बताए ।

प्रहरीले विराटनगरलगायत विभिन्न सहरबाट होलीमा प्रयोग गर्ने गरी छापिएका टी–सर्टहरु समेत धमाधम बरामद गरिरहेको छ । जुन टी–सर्टहरुमा आगामी निर्वाचनका लागि उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को तस्बिर अंकित छन् । केही सामग्रीमा उनीहरूको नामसँगै राजनीतिक सन्देशसमेत उल्लेख गरिएको पाइएको छ ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै यस्ता सामग्री बजारमा खुला रूपमा बिक्रीका लागि राखिनु संवेदनशील विषय भएकाले नियन्त्रणमा लिइएको हो । निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै पनि प्रकारको प्रचार सामग्री उत्पादन, प्रदर्शन, वितरण वा बिक्री गर्न पाइँदैन ।

व्यापारीहरूले होली लक्षित डिजाइनका रूपमा सामग्री ल्याएको दाबी गरे पनि चुनाव नजिकिएकाले मतदातामाथि प्रभाव पार्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै पूर्वसावधानीस्वरूप जफत गरिएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरीले राजनीतिक सन्देश प्रवाह हुने र उम्मेदवारको तस्बिर अंकित गरिएका कपडा एवं सामग्री बिक्री नगर्न व्यापारीहरुलाई सचेत गराएको छ । अब यस्ता सामग्री आयात तथा बिक्री वितरण गरेमा कडा कारबाही गरिने एसएसपी थापाले बताए ।

विश्लेषकहरूका अनुसार होली र रमजानजस्तो उत्सवमा राजनीतिक प्रतीक वा सन्देश मिसिँदा त्यसले सामूहिक उत्सवलाई प्रतिस्पर्धात्मक राजनीतिक रंग दिन सक्छ । सार्वजनिक रूपमा रंग दलादल हुँदा कुनै समूहले विशेष नेता वा दलको समर्थनमा नाराबाजी गरेमा अर्को समूहसँग विवाद उत्पन्न हुन सक्छ । यस्तो अवस्था नियन्त्रणबाहिर गए चुनावी वातावरण बिग्रिने जोखिम रहन्छ ।

यसपटक होली, रमजान र मौन अवधि एकै समयमा परेकाले सुरक्षाका दृष्टिकोणबाट निक्कै चुनौती बनेको छ । एकातिर नागरिकको सांस्कृतिक अधिकार र परम्परा, अर्कोतर्फ निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने दायित्वको सन्तुलन कायम गर्न प्रशासनले संयमित उत्सवको नीति अघि सारेको एसपी कटवाल बताउँछन् । सबैतिरको सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाइ छ ।

उनका अनुसार प्रशासनको अपिललाई भने नागरिकहरुले सकारात्मक रूपमा लिएका छन् । ‘परिवार र आफन्तको घरभित्र मात्रै सीमित भएर मनाउँदा पर्वले निरन्तरता पनि पाउँछ । उल्लास पनि घट्दैन,’ एसपी कटवाल भन्छन्, ‘विगतजस्तै सार्वजनिक रूपमा पर्व मनाउन थालियो भने चुनावलाई असर पार्न सक्छ । त्यस्ता उत्सव अहिले निर्वाचन आचारसंहिता विपरीत पनि हो ।’

सार्वजनिक सहभागिता र सामूहिकता होली एवं रमजानको मूल आत्मा नै हो । तथापि निर्वाचनको सन्दर्भले परिस्थिति फरक बनेको मोरङका प्रजिअ कटेलको भनाइ छ । सुरक्षा संयन्त्रले पर्व एवं चुनावलाई लक्षित गरेर बजार, सार्वजनिक स्थल र सामाजिक सञ्जालमा निगरानी बढाएको उनले बताए ।

सम्भावित उक्साहट, अफवाह वा भ्रामक प्रचार रोक्न सुरक्षा निगरानी तीव्र पारिएको हो । एसपी कटवालका अनुसार मदिरा बिक्री एवं सेवनमा रोक लगाइएकाले चुनाव नसकिएसम्म झडप र अवाञ्छित गतिविधि न्यून हुने अपेक्षा गरिएको छ । त्यसका लागि प्रहरीले विभिन्न होटल र सार्वजनिकस्थलमा निगरानी बढाएको जानकारी उनले दिए ।

राजनीतिक रूपमा संवेदनशील समय र सांस्कृतिक उत्सवको संगमले मोरङसहित देशभर एउटा परीक्षणको घडी सिर्जना गरेको छ । यदि नागरिकले संयमता अपनाएर घरपरिसरभित्रै सभ्य ढंगले होली र रमजान मनाए भने चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुने आधार बलियो बन्नेछ । तर, सार्वजनिक उत्सवलाई राजनीतिक प्रतिस्पर्धाको माध्यम बनाइयो भने त्यसले चुनावी वातावरणमा अनावश्यक तनाव थप्ने नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटवाल बताउँछन् ।

यस वर्षको होली र रमजान रंग एवं उत्सवको प्रतीक मात्र नभई राजनीतिक तथा लोकतान्त्रिक अनुशासनको परीक्षा बनेको उनको विश्लेषण छ । प्रशासनको आग्रह, प्रहरीको निगरानी र नागरिकको जिम्मेवारीबीच सन्तुलन कायम भए मात्र पर्वहरुले लोकतन्त्रको प्रक्रियालाई प्रभावित नगरी आफ्नो सांस्कृतिक सौन्दर्य जोगाउन सक्ने पूर्वडीएसपी कटवालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.