
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। आइतबार काङ्ग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही राजनीतिक दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा आचारसंहिता उल्लङ्घन गर्दै प्रचार–प्रसार गरिरहेकोमा काङ्ग्रेसले गम्भीर आपत्ति जनाएको छ। निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी र भयमुक्त बनाउन आचारसंहिताको पूर्ण पालना गराउनुपर्ने प्रवक्ता चालिसेले बताए।
ध्यानाकर्षण पत्रमा दलहरूले भौतिक चुनाव चिह्नको खुला दुरुपयोग गरेको र निर्वाचन प्रचार–प्रसारमा बालबालिकालाई सहभागी गराएको पाइएको उल्लेख छ। त्यस्तै, राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र सामाजिक सञ्जालमार्फत मिथ्या सूचना (फ्याक्ट चेक बिनाका सामग्री) फैलाएर जनमतलाई भ्रमित पार्ने काम भइरहेको काङ्ग्रेसको ठहर छ।
काङ्ग्रेसले यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गरी दोषीलाई कानुनी कारबाही गर्न आयोगसँग जोडदार माग गरेको छ।
























