
विराटनगर । मेरो कोडिङ क्लास र क्लोभ आईटी विराटनगरको आयोजनामा भएको पहिलो ‘जुनियर कोड फिस्ट’ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुलका विद्यार्थीहरू ब्लक बेस्ड कोडिङ विधातर्फ च्याम्पियन बनेका छन्। विराटनगरका सात विद्यालयका १६ समूह सहभागी रहेको उक्त प्रतिस्पर्धामा हेरिटेजका कक्षा ५ मा अध्ययनरत श्रीयोग नेपाल, आरोहण रेग्मी र कक्षा ४ का उत्कर्ष रोहन दासको टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।
विजेता विद्यार्थीहरूले तयार पारेको ‘जमेट्री ड्यास’ ब्लक बेस्ड कोडिङतर्फ सर्वोत्कृष्ट ठहरिएको थियो। च्याम्पियन टिमले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लोभ आईटीका प्रबन्ध निर्देशक नरेन्द्र कर्णले जानकारी दिए। हेरिटेजको यही टोलीले दुई साताअघि काठमाडौँमा भएको देशव्यापी ‘कोडिङ किकस्टार्ट’ मा पनि फाइनल चरणसम्मको यात्रा तय गरेको थियो।
यसैगरी, प्रतियोगिताको एप डेभलपमेन्टतर्फ मदर टेरेसा स्कुलका तीन विद्यार्थीको समूह र आईओटी एन्ड रोबोटिक्सतर्फ ग्रेडेड इङ्लिस मिडियम सेकेन्डरी स्कुलका तीन विद्यार्थीको समूह विजयी भएको छ। यी दुवै विजेता समूहले पनि जनही २५ हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा ब्लक बेस्ड कोडिङतर्फ कक्षा ३ देखि ५ सम्म, एप डेभलपमेन्टतर्फ कक्षा ६ र ७ तथा आईओटीतर्फ कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि मेरो कोडिङका प्रबन्ध निर्देशक सविन कार्की र क्लोभ आईटीका नरेन्द्र कर्ण लगायतले पुरस्कार वितरण गरे।
विराटनगरका हेरिटेजसहित पोखरिया स्कुल, डीएभी, ग्रिन पिस एकेडेमी, अरनिको आवासीय स्कुल, मदर टेरेसा र ग्रेडेड इङ्लिस स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका सामग्रीको अवलोकन र प्रस्तुतीकरणका आधारमा निर्णायक मण्डलीले विजेता घोषणा गरेका थिए। उच्च शिक्षामा पढिने आईटीका विषयलाई विद्यालय तहदेखि नै प्रयोगात्मक रूपमा अघि बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

























