
काठमाडौं । नेपाली सेनाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो सुरक्षा जिम्मेवारीबारे स्पष्ट पारेको छ । तेस्रो घेराको सुरक्षा प्रदान गर्नुका साथै मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने आइतबार सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाली सेनाको जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४’ र ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अनुसार सञ्चालन भइरहेको उल्लेख छ ।
विज्ञप्ति अनुसार, विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि मतदान समापन भएपछि स्थापित प्रोटोकल अनुरूप मतपेटिका ढुवानी गरिनेछ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू र नेपाली सेनासहितको एकीकृत टोलीले मतपेटिकालाई मतगणना स्थलसम्म सुरक्षित रूपमा पुर्याउने कार्य गर्नेछन् ।
नेपाली सेनाले वि।सं। २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि नै निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराएको छ ।

























