मतदान केन्द्रमा धमाधम खटाइँदै सुरक्षाकर्मी र कर्मचारी

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार ०९:२०

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा धमाधम कर्मचारी र सुरक्षाकर्मी खटाउने काम भइरहेको छ ।

निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीलाई आआफ्नो केन्द्रमा पुगिसक्न परिपत्र जारी गरेको छ । आयोगका अनुसार, दुर्गम तथा विकट भेगका अधिकांश केन्द्रमा केही दिनअघिदेखि नै कर्मचारी र सुरक्षाकर्मी परिचालित भइसकेका छन् । यातायात सुविधा पुगेका स्थानमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्नेछन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार बेलुकासम्म देशभरका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको उपस्थिति सुनिश्चित गर्न निर्देशन दिइसकिएको बताए । उनका अनुसार मतदान अधिकृतसहितको टोली केन्द्रमा पुगेपछि तत्कालै केही अनिवार्य प्रक्रिया सुरु गर्नुपर्नेछ ।

‘निर्वाचन सामग्री सुरक्षित रुपमा केन्द्रमा पुर्‍याएर चारकिल्ला तोकिएको सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने र तयारीका अन्य काम थाल्ने जिम्मेवारी मतदान अधिकृतको हुन्छ,’ उनले भने । देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित मतदान अधिकृतले सुरक्षाकर्मीको उपस्थितिमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री बुझ्ने व्यवस्था गरिएको छ ।

ती सामग्रीको सुरक्षा जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । निर्वाचन आयोग र प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीलाई मतदान अधिकृत तथा सिलबन्दी गरिएका मतपत्र र अन्य सामग्रीलाई २४ सै घण्टा निगरानीमा राख्न स्पष्ट निर्देशन दिएका छन् । मतदान प्रक्रिया सम्पन्न नहुन्जेल कर्मचारी र सुरक्षाकर्मी एकै टोलीका रूपमा केन्द्रमा रहनेछन् ।

आयोगका अनुसार आइतबारसम्म सडक सुविधा नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका दुई सयभन्दा बढी विकट मतदान केन्द्रमा कर्मचारी पुगिसकेका थिए । सदरमुकामबाट टाढा रहेका करिब तीन सय केन्द्रमा सुरक्षाकर्मीसहितको टोली परिचालित भइसकेको प्रतिवेदन आयोगलाई प्राप्त भएको छ । सहरी क्षेत्र र तराईका मतदान केन्द्रमा भने सोमबार अपराह्नसम्म सबै कर्मचारी पुगिसक्ने अपेक्षा गरिएको छ ।

मतदान केन्द्र निर्धारण कार्यविधि अनुसार प्रत्येक स्थानीय तहको हरेक वडामा कम्तीमा एउटा मतदान केन्द्र अनिवार्य गरिएको छ । मतदाताको संख्या र भौगोलिक दूरीका आधारमा आवश्यक परे एकभन्दा बढी केन्द्र तोकिने व्यवस्था छ ।

एउटा मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता नराख्ने प्रावधान लागू गरिएको छ । यदि कुनै स्थानमा मतदाताको संख्या बढी भएमा एउटै मतदान स्थलभित्र क, ख, ग गरी फरकफरक केन्द्र कायम गरिन्छ । तर, एकै स्थानमा सातभन्दा बढी मतदान केन्द्र राख्न नमिल्ने निर्देशिकामा स्पष्ट व्यवस्था छ ।

मतदान अधिकृतले केन्द्रमा पुग्नेबित्तिकै चारकिल्ला तोकिएको सूचना सबैले देख्ने गरी टाँस्नुपर्नेछ । त्यसपछि सकेसम्म छिटो सर्वपक्षीय बैठक बोलाएर निर्वाचनको आचारसंहिता, मतदान प्रक्रिया र सुरक्षासम्बन्धी प्रावधानबारे जानकारी गराइनेछ । प्रचारप्रसार निषेधित अवधि सुरु भएको सूचना पनि मतदान केन्द्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

तयारीका क्रममा मतदान कक्ष व्यवस्थापन, मतपेटिकाको जाँच, आवश्यक कागजी प्रक्रिया तथा मुचुल्का तयार पार्ने काम गरिनेछ । मतदान सुरु भएदेखि सम्पन्न नहुन्जेल पटकपटक सर्वपक्षीय बैठक राखेर प्रक्रिया पारदर्शी बनाइनेछ । मतदान सम्पन्न भएपछि सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी मुचुल्का तयार गरिनेछ । त्यसपछि मतदान अधिकृतले मतपेटिका र सम्बन्धित सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनेछन् ।

निर्वाचन सामग्री सुरक्षित रूपमा बुझेर मतदान सम्पन्न गराई मतपेटिका सम्बन्धित कार्यालयमा हस्तान्तरण गरेपछि मात्रै मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगका प्रवक्ता भट्टराईले बताए । उनका अनुसार मतदानको सम्पूर्ण प्रक्रिया कानुनी दायराभित्र रहेर पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै निकाय समन्वयका साथ परिचालित भएका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.