
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा इरानले गरेको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी ज्यान गुमाउने नेपाली नागरिकको सनाखत भएको छ ।
अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गर्दै मृतक गोर्खा जिल्लाका २९ वर्षीय दिवश श्रेष्ठ रहेको जनाएको हो । दूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानबाट प्रहार गरिएको ड्रोन निष्क्रिय पार्ने क्रममा उत्पन्न घटनामा परी उनको मृत्यु भएको हो ।
श्रेष्ठ यूएईको एक निजी कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । घटनाबारे आधिकारिक जानकारी संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालय दूतावासलाई उपलब्ध गराएको जनाइएको छ ।
दूतावासले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
यूएईमा रहेका नेपालीलाई सुरक्षित रहन, संयमता अपनाउन र स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशहरूको पालना गर्न पनि दूतावासले आग्रह गरेको छ ।

























