
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा सुनसरी घर भएका एक जना कर्मचारीको मृत्यु भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार नायब सुब्बा (नासु) पदमा कार्यरत सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो । उनी सरकारी सेवामा नायब सुब्बा पदमा कार्यरत थिए ।
प्रहरीका अनुसार बिहान करिब ८ः४५ बजे प्रदेश ३–००१ ब ९४५ नम्बरको सरकारी स्कुटरमा सवार कोइरालालाई बा २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल सिभिल अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























