
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बिथोल्ने र अवरोध पुऱ्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट १४२ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न उनीहरूलाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये सोमबार मात्रै ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रवक्ता काफ्लेका अनुसार पक्राउ परेका १४२ जनामध्ये हाल ७६ जना प्रहरी हिरासतमा रहेका छन् भने बाँकी ६६ जनालाई आवश्यक सोधपुछ र चेतावनीपछि छाडिएको छ। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले विशेष सुरक्षा अपरेसन चलाइरहेको छ।
विशेष गरी निर्वाचन बहिष्कारको नारा दिने र मतदातालाई तर्साउने गतिविधि गर्ने समूहहरूमाथि प्रहरीले सूक्ष्म निगरानी बढाएको छ। आयोगले मौन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि र सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई रोक्न समेत सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ।
























