
काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले खाडी मुलुकमा रहेका नेपाली नागरिकको विवरण संकलन सुरु गरेको छ ।
मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत विशेषगरी साउदी अरेबिया र यमनमा रहेका नेपालीको तथ्यांक अद्यावधिक गरिने जनाइएको छ । नेपाली दूतावास रियादले सूचना जारी गर्दै साउदी अरेबियामा कार्यरत तथा बसोबास गर्दै आएका सबै नेपालीलाई आफ्नो व्यक्तिगत विवरण अनिवार्य रूपमा दर्ता गर्न आग्रह गरेको छ ।
दूतावासका अनुसार आकस्मिक अवस्था सिर्जना भएमा उद्धार, समन्वय र आवश्यक कूटनीतिक पहलका लागि यथार्थ विवरण आवश्यक पर्ने भएकाले यो प्रक्रिया सुरु गरिएको हो । पोर्टलमा राहदानी नम्बर, बसोबासको ठेगाना, रोजगारदाता कम्पनी, सम्पर्क नम्बर र आपतकालीन सम्पर्क व्यक्तिको विवरण उपलब्ध गराउनुपर्नेछ ।
दूतावासले व्यक्तिगत सूचना सुरक्षित रहने र आपतकालीन प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट पारेको छ । खाडी क्षेत्रमा सक्रिय विभिन्न प्रवासी संघ संस्थाले पनि नेपालीलाई पोर्टलमा विवरण भर्न सहयोग र समन्वय गर्ने जनाएका छन् । सरकारले अपुष्ट हल्लामा विश्वास नगर्न र आधिकारिक सूचनामात्र पछ्याउन आग्रह गरेको छ ।
























