
सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिका –२ बाट सशस्त्र प्रहरीको ‘स्ट्राइकिङ फौज’ ले नगदसहित एक पूर्व वडाअध्यक्षलाई पक्राउ गरेको छ। निर्वाचनको मौन अवधिमा शङ्कास्पद रूपमा नगद बोकेर हिँडेको अवस्थामा ६५ वर्षीय पुरुषोत्तम यादवलाई नियन्त्रणमा लिइएको हो।
सर्लाही क्षेत्र नम्बर–२ को निर्वाचन सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक सुजन रानाभाट नेतृत्वको टोलीले उनलाई पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको छ। सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद भएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।
पक्राउ परेका यादव यसअघि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। हाल उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध रहेका छन्। निर्वाचन आयोगले मौन अवधिमा नगद वा अन्य प्रलोभनका सामग्री ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको सन्दर्भमा यो पक्राउलाई महत्त्वका साथ हेरिएको छ।
























