
विराटनगर। पत्रकार दीपेन्द्रराज तिम्सिनाको ४५ वर्षको उमेरमा मंगलबार निधन भएको छ। एक साताअघि उच्च रक्तचापका कारण अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएका उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा तिम्सिना पत्रकारिताका साथै खोजमूलक पुस्तक लेखन र प्रकाशनमा निकै सक्रिय थिए।
उनले ‘टेलिफोन डायरी’, ‘नेपाल जेसिज’, ‘भुटानी शरणार्थी’, ‘तिम्सिना बन्धु’, ‘पथरी शनिश्चरे नगरपालिका’ र ‘इतिहासमा गुमनाम बिसे नगर्ची’ लगायतका महत्वपूर्ण अनुसन्धानात्मक कृतिहरू प्रकाशन गरेका छन्।
पछिल्लो समय उनी नेपाल बैंक तथा बैंकिङ इतिहाससम्बन्धी शोधकार्यमा व्यस्त थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

























