
काठमाडौं। गृह मन्त्रालयले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयमा बसेको भर्चुअल बैठकमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट तयारी र सुरक्षा व्यवस्थापनबारे अद्यावधिक जानकारी लिइएको हो।
मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा निर्वाचन तयारी, सुरक्षा रणनीति र व्यवस्थापकीय समन्वयका विषयमा विस्तृत समीक्षा गरिएको थियो। बैठकमा करिब तीन घण्टासम्म जिल्लागत अवस्था र शान्ति–सुरक्षाको संवेदनशीलताका बारेमा छलफल भएको थियो।
मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार सबै जिल्लामा मतदान केन्द्रसम्म कर्मचारी, सुरक्षा निकाय र निर्वाचन सामग्री सुरक्षित रूपमा पुगिसकेका छन्। हालसम्म देशभरको सुरक्षा अवस्था सामान्य रहेको बैठकमा जानकारी गराइएको थियो। मतदानका दिन अपनाउनुपर्ने सतर्कता र केन्द्र तथा जिल्लाबीचको समन्वयलाई थप सुदृढ बनाउने समझदारी बैठकमा बनेको छ।
सचिव श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिँदै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्न आग्रह गरेका छन्। सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन मन्त्रालयले विशेष ध्यान दिएको जनाएको छ।
























