
धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार आशिका तामाङको उम्मेदवारीलाई लिएर कानुनी विवाद सुरु भएको छ। जर्मनीको स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिएको प्रमाण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको योग्यतामाथि प्रश्न उठेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ मा स्पष्ट व्यवस्था भएअनुसार केवल नेपाली नागरिक मात्र निर्वाचनमा उम्मेदवार बन्न योग्य हुन्छन्। तामाङले जर्मनीको पिआर लिएको दाबीसहितका कागजात बाहिरिएपछि उनी कानुनी रूपमा उम्मेदवार रहन मिल्ने वा नमिल्ने विषयमा बहस चर्किएको छ। कानुन व्यवसायीहरूका अनुसार विदेशी मुलुकको पिआर लिने व्यक्तिले नेपालको निर्वाचनमा भाग लिनु नैतिक र कानुनी रूपमा गलत हुन सक्छ।
अधिवक्ता रामचन्द्र कोइरालाका अनुसार निर्वाचन कसुर तथा सजाय ऐनले विदेशी नागरिक वा विदेशी आवासीय अनुमति प्राप्त व्यक्तिलाई मतदानको अधिकार दिँदैन। मतदानकै अधिकार नभएको व्यक्ति उम्मेदवार बन्नु कानुनविपरीत हुने उनको तर्क छ।
तामाङले भने आफूसँग विदेशी परिचयपत्र नरहेको र केवल नेपाली नागरिकता तथा पासपोर्ट मात्र रहेको दाबी गर्दै आएकी छिन्। केही समयअघि उनको नामबाट निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताको नक्कली इमेल समेत पठाइएको थियो, जसको उनले खण्डन गरेकी थिइन्।
धादिङ-१ मा चर्चामा रहेकी तामाङको उम्मेदवारीका विषयमा निर्वाचन आयोगले अहिलेसम्म कुनै अन्तिम निर्णय गरिसकेको छैन। निर्वाचनको अघिल्लो दिन यस्तो गम्भीर प्रमाण सार्वजनिक हुनुले चुनावी माहोलमा तरङ्ग ल्याएको छ। यसअघि पनि नेपालमा दोहोरो नागरिकता वा विदेशी पिआरका कारण कतिपयको राजनीतिक भविष्य संकटमा परेका उदाहरणहरू छन्।
























